एक वर्षमा अन्नपूर्ण क्षेत्रमा पाँच लाखभन्दा बढी विदेशी पर्यटक, १६९ देशबाट आगमन
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। गत आर्थिक वर्षमा विश्वका १६९ देशका पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरेका छन्। यो संख्या यस क्षेत्रको पर्यटन इतिहासमै नयाँ कीर्तिमान मानिएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार भ्रमण गर्नेमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ पर्यटक रहेका छन्। भारतीय पर्यटकको संख्या सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ पुगेको छ। त्यस्तै चीनबाट १२ हजार पाँच सय ३९ र अमेरिकाबाट नौ हजार आठ सय ८४ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका छन्।
यसैगरी बेलायतबाट नौ हजार आठ सय ५९, फ्रान्सबाट सात हजार नौ सय ३९, मलेसियाबाट सात हजार आठ सय ४८, जर्मनीबाट सात हजार छ सय ३४, बङ्गलादेशबाट सात हजार चार सय ४८, अष्ट्रेलियाबाट सात हजार ९५ तथा इजरायलबाट छ हजार तीन सय ९८ जना पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटकले मात्र यस क्षेत्रको भ्रमण गरेका थिए। तुलनात्मक रूपमा गत वर्ष पर्यटक आगमन झण्डै दोब्बरले वृद्धि भएको हो।
विशेषगरी भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ। भारतमा पोखरा, मुक्तिनाथलगायतका गन्तव्यको प्रचारप्रसार, सडक तथा हवाई यातायातको सहज पहुँच र सामाजिक सञ्जालमार्फत भइरहेको प्रवर्द्धनका कारण भारतीय पर्यटकको संख्या बढेको बताइएको छ। गर्मीयाममा मौसमको तापबाट राहत पाउन भारतीय पर्यटक पोखरा र आसपासका हिमाली क्षेत्र रोज्ने गरेका छन्।
गत वैशाख र जेठ महिनामा पोखराका होटलहरूको अकुपेन्सी दर ९० प्रतिशतसम्म पुगेको थियो। पोखरा भ्रमण गर्ने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशतले मुक्तिनाथसम्म यात्रा गर्ने गरेको तथ्याङ्कले देखाएको छ।
विश्वप्रसिद्ध पदयात्रा गन्तव्यका रूपमा परिचित अन्नपूर्ण क्षेत्रले पर्यटकलाई अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला पास, उपल्लो मुस्ताङ, मुक्तिनाथ र घोडेपानीजस्ता आकर्षक गन्तव्यमा पुग्ने अवसर प्रदान गर्दै आएको छ।
करिब सात हजार छ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली संस्कृति र स्थानीय समुदायको आतिथ्यताका कारण नेपालकै प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित छ। यस क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ जिल्लाका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्।
पर्यटनमैत्री पूर्वाधारको विकास, सहज पहुँच र विश्वव्यापी प्रचारप्रसारले अन्नपूर्ण क्षेत्रलाई विदेशी पर्यटकको रोजाइमा अझ सशक्त रूपमा स्थापित गरिरहेको देखिन्छ।
