पदको लोभ नभई पार्टी एकताका लागि आग्रह गरेका हौंः खड्का
काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू र आफ्नो समूहले पदका लागि कुनै प्रकारको सौदाबाजी नगरेको स्पष्ट पारेका छन्। विशेष महाधिवेशनपछि बनेको संरचनालाई स्वीकार गरे पनि त्यसलाई लिएर पद मागेको भन्ने प्रचार गलत भएको उनको भनाइ छ।
बिपी कोइरालाको स्मृति दिवसका अवसरमा संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै खड्काले सभापति गगन थापासँग पार्टीभित्रका दुई धारलाई एकीकृत गर्न आग्रह गरेको बताए। उनले ‘हामीलाई जोड्नुस्, सानेपामा स्थान दिनुस्’ भन्ने आग्रहलाई पदको मागका रूपमा व्याख्या गर्नु उचित नभएको बताए।
खड्काले आफूहरू कुनै पदका लागि दौडधुप गर्ने अवस्थामा नरहेको उल्लेख गर्दै कांग्रेसका वरिष्ठ नेताहरू अझ सक्रिय रूपमा पार्टी र युवापुस्ताको साथमा रहने बताए। उनका अनुसार आगामी दिनमा युवाहरूलाई नेतृत्वमा अघि बढाउन र आवश्यक पर्दा संरक्षण तथा मार्गदर्शन गर्न आफूहरू तयार छन्।
उनले विशेष महाधिवेशनपछि कांग्रेसभित्र १४औँ महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर गरी दुई धार देखिएको भन्दै यी पक्षलाई एउटै संरचनामा नजोडेसम्म पार्टीको वास्तविक एकता सम्भव नहुने तर्क गरे।
खड्काले सभापति थापासँगको भेटमा पनि दुवै पक्षका कार्यसमितिलाई समेटेर पार्टी संरचनालाई पूर्णता दिन आग्रह गरेको जानकारी दिए। केवल पद बाँडफाँट वा केही व्यक्तिलाई जिम्मेवारी दिएर पार्टी एकता नहुने भन्दै उनले सबै पक्षलाई सम्मानजनक रूपमा समेट्नुपर्ने आवश्यकता औँल्याए।
