फलफूल र खाद्यान्न आयातमै अर्बौं बाहिरिँदा नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा वैदेशिक व्यापार करिब १६ प्रतिशतले बढेको हो। यद्यपि निर्यातमा वृद्धि देखिए पनि खाद्यान्न, फलफूल, खाने तेल तथा अन्य उपभोग्य वस्तुको उच्च आयातका कारण व्यापार घाटा अझै गहिरो बनेको छ।
गत आवमा नेपालले २० खर्ब ९६ अर्ब रुपैयाँ बराबरका वस्तु आयात गर्दा ३ खर्ब १५ अर्ब रुपैयाँको मात्र निर्यात गरेको छ। यससँगै व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ।
वैदेशिक व्यापारको तथ्यांकले नेपाल अझै पनि खाद्य तथा कृषि उपजमा आयातमुखी रहेको देखाएको छ। स्वदेशमै उत्पादन गर्न सकिने विभिन्न फलफूल, खाद्यान्न तथा खानेकुरा आयातमा ठूलो रकम विदेशिने क्रम जारी छ। विशेषगरी खाने तेल उद्योगका लागि कच्चा सोयाबिन तेल आयातमा मात्रै ९८ अर्ब रुपैयाँ खर्च भएको छ।
खाद्य सुरक्षासँग जोडिएका वस्तुहरूको बढ्दो आयातले कृषि उत्पादन वृद्धिको चुनौतीलाई पनि उजागर गरेको छ। पछिल्ला वर्षहरूमा स्याउ, सुन्तला, अंगुर, किवी, लसुन, प्याज, विभिन्न दाल तथा प्रशोधित खाद्य पदार्थको आयात निरन्तर बढ्दै गएको छ।
यता निर्याततर्फ भने सोयाबिन तेलकै वर्चस्व देखिएको छ। गत आर्थिक वर्षमा १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ, जसले कुल निर्यातको ठूलो हिस्सा ओगटेको छ। नेपालले तेस्रो मुलुकबाट कच्चा सोयाबिन तेल आयात गरी प्रशोधनपछि भारतीय बजारमा निर्यात गर्दै आएको छ।
निर्यात हुने वस्तुहरूमा अलैंची दोस्रो स्थानमा रहेको छ। गत आवमा १२ अर्ब ६४ करोड रुपैयाँ बराबरको अलैंची विदेश निर्यात भएको विभागको तथ्यांकले देखाएको छ।
नेपालका प्रमुख व्यापार साझेदार भारत र चीन नै रहेका छन्। गत आवमा भारतबाट १२ खर्ब १० अर्ब रुपैयाँको वस्तु आयात भएको छ भने भारततर्फ २ खर्ब ५८ अर्ब रुपैयाँको निर्यात भएको छ। चीनबाट ४ खर्ब २५ अर्ब रुपैयाँको वस्तु आयात हुँदा निर्यात भने १ अर्ब ८९ करोड रुपैयाँमा सीमित रहेको छ।
अर्थविद्हरूका अनुसार कृषि उत्पादन वृद्धि, खाद्यान्न तथा फलफूलमा आत्मनिर्भरता र निर्यातयोग्य कृषि वस्तुको प्रवर्द्धन गर्न सके व्यापार घाटा घटाउन महत्वपूर्ण योगदान पुग्न सक्छ। हालको तथ्यांकले भने नेपाल अझै पनि दैनिक उपभोगका वस्तुमा विदेशी बजारमै निर्भर रहेको संकेत गरेको छ।
