२१ कूटनीतिक नियोगमा नयाँ राजदूत पठाउने तयारी
काठमाडौं । नेपाल सरकारले लामो समयदेखि रिक्त रहेका विदेशी नियोगहरूमा नयाँ राजदूत नियुक्तिको प्रक्रिया तीव्र बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आगामी दुई साताभित्र २१ मुलुक तथा अन्तर्राष्ट्रिय नियोगका लागि राजदूत सिफारिस गर्ने तयारी भइरहेको छ।
नियुक्ति हुने सूचीमा हाल रिक्त रहेका १६ दूतावासका साथै कार्यकाल सकिएपछि म्याद थपेर कार्यरत इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र संयुक्त राष्ट्रसंघीय नियोग भियनासमेत समावेश छन्। यी सबै स्थानमा नयाँ नेतृत्व पठाउने तयारी सरकारले अघि बढाएको हो।
हाल नेपालका २८ देशमा दूतावास सञ्चालनमा छन्। त्यसबाहेक संयुक्त राष्ट्रसंघका न्यूयोर्क, जेनेभा र भियनास्थित स्थायी नियोग तथा आठ महावाणिज्य दूतावाससहित कुल ३९ कूटनीतिक मिसन सञ्चालनमा रहेका छन्। तर अहिले १५ स्थानमा मात्र राजदूत कार्यरत छन् भने बाँकी १६ नियोग लामो समयदेखि राजदूतविहीन अवस्थामा छन्।
परराष्ट्र मन्त्रालयका अनुसार अहिले न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली राजदूत कार्यरत छन्।
यता अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरेबिया, श्रीलंका, बेलायत, अमेरिका र स्पेनस्थित नेपाली दूतावासमा भने राजदूतको पद खाली छ।
यसैबीच सरकारले खर्च व्यवस्थापन र कूटनीतिक पुनर्संरचनाअन्तर्गत दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको छ।
यसपटकको नियुक्तिमा अर्को विशेषता पनि देखिएको छ। सरकारले पहिलोपटक खुला आवेदनमार्फत राजदूत छनोट गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयका अनुसार प्राप्त आवेदनहरूको मूल्यांकन भइरहेको छ र योग्य उम्मेदवारबाटै सिफारिस गर्ने तयारी भइरहेको छ। यदि यो प्रक्रिया कार्यान्वयनमा आयो भने नेपालको कूटनीतिक सेवामा खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त हुने नयाँ अभ्यासको सुरुआत हुनेछ।
