पर्यटक बढे, होटलको नाफा घट्यो
काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमनले नयाँ उचाइ कायम गरेको वर्ष होटल तथा पर्यटन क्षेत्रका सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था भने अपेक्षाअनुसार उत्साहजनक देखिएन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा केबलकारसम्बन्धी आठ कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा समग्रमा २५ करोड ५९ लाख रुपैयाँ घाटा व्यहोरेका छन् ।
अघिल्लो आर्थिक वर्षमा यही समूहका कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा गरेका थिए । यसपटक पर्यटक संख्या बढे पनि होटल सञ्चालनमा आएको अवरोध, भौतिक क्षति, मर्मतसम्भार, बढ्दो प्रतिस्पर्धा र बाह्य पर्यटन बजारमा देखिएको अस्थिरताले आम्दानीमा दबाब परेको वित्तीय विवरणले देखाएको छ ।
गत आर्थिक वर्षमा यी आठ कम्पनीको कुल कारोबार ६ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष उनीहरूको संयुक्त कारोबार ७ अर्ब २९ करोड रुपैयाँ थियो । यस हिसाबले पर्यटन क्षेत्रका सूचीकृत कम्पनीको कारोबार करिब १४.५ प्रतिशतले घटेको छ ।
यसबीच नेपालमा भने पर्यटक आगमनले रेकर्ड कायम गरेको छ । पर्यटन बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०२६ को जनवरीदेखि जुलाईसम्म मात्रै ६ लाख ९२ हजार २२८ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ६.८४ प्रतिशत बढी हो ।
सोल्टीको प्रदर्शन बलियो
पर्यटक आगमनमा वृद्धि भए पनि सबै होटलले त्यसको समान लाभ लिन सकेनन् । पाँचतारे सोल्टी होटलले भने चुनौतीपूर्ण अवस्थाबीच पनि ७६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
सोल्टीले गत आवमा ३ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा करिब १६.५ प्रतिशतले बढेको छ ।
हायातको सञ्चालन अवरोधले ठूलो असर
गत वर्षको जेनजी आन्दोलनबाट प्रभावित तारागाउँ रिजेन्सी होटल (हायात रिजेन्सी) अझै पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा सबैभन्दा ठूलो घाटा व्यहोर्ने कम्पनीमध्ये परेको छ ।
होटलले गत आवमा ७० करोड ५७ लाख रुपैयाँ घाटा बेहोरेको छ । अघिल्लो वर्ष भने यही होटल ४६ करोड ८५ लाख रुपैयाँ नाफामा थियो । आन्दोलनबाट भएको क्षति र मर्मतसम्भारमा भएको ढिलाइले होटलको व्यवसायमा गम्भीर असर परेको कम्पनीले जनाएको छ ।
र्याडिसन पनि नाफाबाट घाटामा
ओरिएन्टल होटल (र्याडिसन) पनि अघिल्लो वर्षको नाफाबाट गत आवमा घाटामा पुगेको छ । अघिल्लो आवमा ४ करोड ३७ लाख रुपैयाँ नाफा गरेको होटलले गत वर्ष ४ करोड ७४ लाख रुपैयाँ घाटा व्यहोरेको हो ।
नयाँ होटलको बढ्दो प्रतिस्पर्धा, पश्चिम एसियाको तनाव तथा कोठा मर्मतका क्रममा ठूलो संख्यामा कोठा बन्द गर्नुपर्दा आम्दानी प्रभावित भएको होटलले जनाएको छ ।
हायात सेन्ट्रिक र फरेस्ट इन पनि घाटामा
सिटी होटलअन्तर्गतको हायात सेन्ट्रिकले गत आवमा १७ करोड रुपैयाँ घाटा व्यहोरेको छ । पर्यटक आगमनमा अपेक्षित सुधार भए पनि होटलको आम्दानीको तुलनामा सञ्चालन खर्च बढी हुँदा घाटा भएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।
फरेस्ट इन पनि २४ करोड ४५ लाख रुपैयाँ घाटामा छ । अघिल्लो वर्ष पनि कम्पनी १७ करोड १९ लाख रुपैयाँ घाटामा थियो ।
केबलकार व्यवसायमा भने सुधार
होटलको तुलनामा केबलकार व्यवसायमा संलग्न कम्पनीहरूले राम्रो प्रदर्शन गरेका छन् । आन्तरिक पर्यटनको माग बढ्दा कालिञ्चोक दर्शनले ५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ ।
चन्द्रागिरि हिल्सले होटल र केबलकारबाट ८० करोड ६२ लाख रुपैयाँ कारोबार गर्दै ८ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ । त्यस्तै, नयाँ सूचीकृत बन्दीपुर केबलकारले १ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।
समग्र तथ्यांकले नेपालमा पर्यटक संख्या बढ्दै गए पनि त्यसको प्रत्यक्ष लाभ होटल व्यवसायमा समान रूपमा नपुगेको देखाउँछ । पर्यटनको माग बढ्नु मात्र पर्याप्त नभई होटलको सञ्चालन निरन्तरता, पूर्वाधार सुरक्षा, सेवा गुणस्तर, प्रतिस्पर्धात्मक क्षमता र पर्यटकको खर्च गर्ने प्रवृत्तिले व्यवसायको नाफा निर्धारण गर्ने अवस्था देखिएको छ ।
