कोलकाताको होटलमा आगलागी, नौ जनाको मृत्यु; छ घाइते
कोलकाता । भारतको पश्चिम बंगालको राजधानी कोलकातास्थित एक होटलमा बुधबार बिहान भएको भीषण आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
मध्य कोलकाताको मिर्जा गालिब स्ट्रिटमा रहेको होटलमा बिहान करिब १ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ। सूचना प्राप्त हुनासाथ दमकलका पाँच वटा गाडी घटनास्थल पुगेका थिए। प्रहरी र विपद् व्यवस्थापन टोलीले पनि तत्काल उद्धार अभियान थालेका थिए।
दमकलकर्मीले आगो नियन्त्रणमा लिए पनि होटलभित्र बाक्लो धुवाँ भरिएकाले माथिल्ला तलामा रहेका व्यक्तिको उद्धारमा कठिनाइ भएको थियो। आगो नियन्त्रणपछि भवन चिस्याउने र कोही फसेको भए खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका छ जनालाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या थपिन सक्ने आशंका गरिएको छ।
आगलागीको कारण भने खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। घटनास्थलनजिकै पश्चिम बंगाल अग्निशमन विभागको मुख्यालयसमेत रहेको बताइएको छ।
दुई दिनमै अर्को होटलमा पनि ठूलो आगलागी
कोलकाताको घटनाभन्दा दुई दिनअघि पश्चिम बंगालकै बीरभूम जिल्लाको तारापीठस्थित होटलमा भएको आगलागीमा पनि नौ जनाको मृत्यु भएको थियो।
सोमबार बिहान करिब ४ः३० बजे चारतले होटलको भुइँतलाबाट सुरु भएको आगो दोस्रो तलासम्म फैलिएको थियो। अधिकांश पाहुना सुतिरहेका बेला आगलागी भएकाले बाक्लो धुवाँका कारण माथिल्ला तलामा रहेका मानिसहरू कोठामै फसेका थिए। त्यतिबेला होटलमा ४३ जना पाहुना रहेको बताइएको थियो।
घटनामा मेघालयको एउटै परिवारका पाँच सदस्यको समेत मृत्यु भएको थियो। प्रहरीले होटल सञ्चालक कल्याण पालसहित दुई जनालाई हिरासतमा लिएर सुरक्षा व्यवस्थामा भएको सम्भावित कमजोरीबारे अनुसन्धान गरिरहेको छ। एजेन्सी
