नेपालगञ्ज–पोखरा हवाई सम्पर्क पुनः जोडिँदै, धार्मिक तथा पर्वतीय पर्यटनलाई टेवा पुग्ने अपेक्षा
नेपालगञ्ज । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ। निजी वायुसेवा कम्पनी बुद्ध एयरले भदौ ३१ गतेदेखि यो रुटमा उडान सुरु गर्ने तयारी गरेसँगै पश्चिम नेपाल र पोखराबीचको पर्यटन आवागमन सहज हुने अपेक्षा गरिएको छ।
यात्रुको माग बढेपछि सेवा पुनः सञ्चालन गर्न लागिएको बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले बताए। उनका अनुसार पछिल्लो समय भारतबाट आउने धार्मिक पर्यटकको संख्या बढ्नुका साथै नेपालगञ्ज–पोखरा हवाई यात्राप्रति पनि आकर्षण बढेको छ।
यसअघि यात्रु अभाव, धार्मिक पर्यटकको संख्या घट्नु र सञ्चालन खर्च बढेका कारण जेठ ५ गतेदेखि यो उडान स्थगित गरिएको थियो। अब आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान सञ्चालन हुनेछ।
नेपालगञ्ज–पोखरा हवाई सम्पर्कलाई पश्चिम नेपाल र भारतको उत्तर प्रदेशबाट आउने पर्यटकलाई पोखरासँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ। विशेषगरी भारतीय धार्मिक पर्यटकका लागि नेपालगञ्ज क्षेत्रका धार्मिक गन्तव्य र पोखराका प्राकृतिक तथा साहसिक पर्यटनस्थललाई एउटै यात्रामा जोड्न यसले सहयोग पुर्याउने पर्यटन व्यवसायीहरूको भनाइ छ।
पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले उडान पुनः सञ्चालन हुनु पश्चिम नेपालको पर्यटनका लागि सकारात्मक भएको बताए। उनका अनुसार हवाई सेवा नियमित भएपछि पोखराबाट नेपालगञ्ज हुँदै बागेश्वरी मन्दिर तथा भारतको अयोध्यालगायत धार्मिक गन्तव्यसम्म पर्यटकको आवागमन बढाउन सकिने सम्भावना छ।
यसले नेपालगञ्ज, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालबाट पोखरा, मुस्ताङ र आसपासका हिमाली तथा प्राकृतिक गन्तव्यमा जाने नेपाली पर्यटकलाई पनि सहजता दिनेछ।
नेपालगञ्ज र पोखरालाई जोड्ने हवाई सेवाले केवल दुई सहरबीचको यातायात सुविधा मात्र विस्तार नगरी धार्मिक, प्राकृतिक, साहसिक र क्षेत्रीय पर्यटनलाई एकअर्कासँग जोड्ने ‘पर्यटन सर्किट’ विकासको सम्भावना पनि बढाएको छ।
स्थानीय पर्यटन व्यवसायीको पहलपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन सञ्चालनमा आएको यो रुट बीचमा रोकिएको थियो। पुनः सेवा सुरु भएपछि नेपालगञ्जलाई पश्चिम नेपाल तथा सीमावर्ती भारतीय बजारका पर्यटकका लागि पोखरा प्रवेशको वैकल्पिक हवाई नाकाका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ।
