सरकारसँग सहमति जुटेपछि लघुवित्त पीडित घर फर्किए
काठमाडौं । लघुवित्त संस्थाबाट पीडित भएको भन्दै आन्दोलनमा रहेका ऋणी र नेपाल सरकारबीच १४ बुँदे सहमति भएपछि उनीहरूको धर्ना कार्यक्रम स्थगित भएको छ।
ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका ऋणीहरू सरकारसँग वार्ता र सहमति भएपछि आ–आफ्नो घर फर्किएका हुन्।
सरकारले आइतबार बिहान ८ः५० बजेदेखि साझा यातायातका बसको व्यवस्था गरेर आन्दोलनमा सहभागीलाई सम्बन्धित जिल्लातर्फ पठाएको थियो। सरकारी अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत विभिन्न जिल्लाबाट आएका ऋणीहरू सहमतिपछि घर फर्किएका हुन्।
सरकार र ऋणी पक्षबीच भएको १४ बुँदे सहमतिलाई आन्दोलनरत पक्षले आफ्ना माग सम्बोधनतर्फको प्रारम्भिक कदमका रूपमा लिएको छ। सहमतिसँगै लामो समयदेखि जारी धर्ना तत्कालका लागि अन्त्य भएको छ।
