पर्सामा बढे बाघ, पर्यटनको नयाँ अवसर
फाइल तस्विर
पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या चार वर्षमै उल्लेख्य रूपमा बढेपछि निकुञ्जले संरक्षणसँगै वन्यजन्तु पर्यटनको सम्भावना विस्तार गर्ने नयाँ अवसर पाएको छ। सन् २०२२ मा ४१ वयस्क बाघ रहेको पर्सामा २०२६ को गणनाअनुसार बाघको सङ्ख्या ७१ पुगेको छ।
बाघको बढ्दो सङ्ख्यालाई दीर्घकालीन संरक्षण र पर्यटन व्यवस्थापनसँग जोड्न निकुञ्जले बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड (सीएटीएस) प्रमाणीकरण प्रक्रिया अघि बढाएको छ। यो प्रक्रियाले बाघको सङ्ख्या मात्र नभई बासस्थान, आहारा, सुरक्षा, वैज्ञानिक अनुगमन, मानव–बाघ द्वन्द्व व्यवस्थापन र पर्यटन व्यवस्थापनसमेत मूल्याङ्कन गर्नेछ।
पर्यटनका दृष्टिले पर्साको बढ्दो बाघ सङ्ख्या महत्वपूर्ण आकर्षण बन्न सक्छ। नेपालमा बाघ हेर्न चाहने आन्तरिक तथा विदेशी पर्यटकका लागि पर्सालाई चितवन र बर्दियासँग जोडेर ‘टाइगर सर्किट’ विकास गर्न सकिने सम्भावना छ। पर्सा निकुञ्जको वन्यजन्तु, चुरे क्षेत्र, जंगल सफारी र मध्यवर्ती क्षेत्रका समुदायमा आधारित पर्यटनलाई एकीकृत गर्न सके पर्यटकको बसाइ अवधि र खर्च दुवै बढाउन सकिन्छ।
तर बाघ बढ्नु मात्रै पर्यटन विस्तारको आधार होइन। पर्यटकले सुरक्षित र जिम्मेवार ढंगले वन्यजन्तु अवलोकन गर्न सक्ने वातावरण, अनुभवी गाइड, सफारी सेवा, आवास, सडक पहुँच, सूचना केन्द्र तथा पर्यटकीय पूर्वाधारको गुणस्तर पनि सुधार गर्नुपर्ने हुन्छ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको सङ्ख्या बढ्नु संरक्षणको उपलब्धि भए पनि अबको चुनौती बाघ र स्थानीय समुदायबीच सुरक्षित सहअस्तित्व कायम गर्नु रहेको बताएका छन्। संरक्षणबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
यसका लागि निकुञ्जको ‘बाघ मित्र अभियान’लाई पर्यटनसँग जोड्न सकिन्छ। स्थानीय युवालाई वन्यजन्तु गाइड, होमस्टे सञ्चालक, प्रकृति व्याख्याता तथा संरक्षण स्वयंसेवकका रूपमा परिचालन गर्न सके बाघ संरक्षणको लाभ गाउँसम्म पुर्याउन सकिन्छ। यसले वन्यजन्तु संरक्षणप्रति स्थानीय समुदायको स्वामित्व पनि बढाउनेछ।
सीएटीएस प्रक्रियाअन्तर्गत बासस्थान र आहारा संरक्षण, चोरी–सिकार नियन्त्रण, स्मार्ट पेट्रोलिङ, मानव–बाघ द्वन्द्व न्यूनीकरण, वैज्ञानिक अनुगमन र समुदाय सहभागितामा सुधार गरिनेछ। यी सुधारले पर्यटनका लागि आवश्यक सुरक्षित र स्वस्थ वन्यजन्तु आवास निर्माण गर्न समेत सहयोग पुर्याउनेछन्।
पर्सामा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको सफलता मात्र नभई पर्यटनका लागि पनि ठूलो सम्भावना हो। अब चुनौती भनेको बढेको बाघ सङ्ख्यालाई जिम्मेवार पर्यटन, स्थानीय रोजगारी र समुदायको आम्दानीसँग जोड्नु हो। त्यसो गर्न सके पर्सा राष्ट्रिय निकुञ्ज नेपालको नयाँ प्रमुख बाघ पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्छ।
फाइल तस्विर
