त्रिशूली–नारायणी किनारमा ६४ शव फेला, खोजी तीव्र
चितवन । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेर आएका ६४ वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये केही पूर्ण अवस्थामा छन् भने केही मानव अंग मात्र भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नदी किनारमा भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिँदै आएको छ। तर शवको संख्या बढ्दै गएपछि अस्पतालको शवगृहमा ठाउँ अभाव भएको छ।
तनहुँमा भेटिएका नौवटा शवसमेत चितवन ल्याइएको थियो। चितवनमा व्यवस्थापन गर्न ठाउँ नपुगेपछि ती शव पुनः तनहुँ नै पठाइएको प्रहरीले जनाएको छ।
बाढीपछि नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि चितवनमा रहेका तीनवटै सुरक्षा निकाय परिचालन भएका छन्। सुरक्षाकर्मीले त्रिशूली र नारायणी नदीका विभिन्न किनारमा खोजी अभियान सञ्चालन गरिरहेका छन्।
शव व्यवस्थापनमा समेत समस्या देखिन थालेपछि भरतपुर अस्पतालको शवगृहबाहेक औद्योगिक प्रतिष्ठानका कार्यालय वा अन्य उपयुक्त स्थान प्रयोग गर्ने तयारी भइरहेको प्रहरी प्रमुख पौडेलले बताएका छन्।
भोटेकोशीमा आएको बाढीपछि नदीको बहावसँगै लामो दूरीसम्म शव तथा मानव अंग बगेर आउन थालेकाले नदी किनारका जिल्लामा खोजी र पहिचानको चुनौती थपिएको छ।
