रसुवा बाढीमा देश–विदेशबाट सहयोगको ओइरो, साढे ४ अर्बभन्दा बढी राहत कोषमा
फाइल तस्बिर अर्थ मन्त्रालय
काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग जुट्न थालेको छ। रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति भएपछि सरकारले उच्च प्राथमिकताका साथ राहत तथा पुनःस्थापनाको काम अघि बढाइरहेको छ।
अर्थ मन्त्रालयका अनुसार विभिन्न मुलुक, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा गैरसरकारी संस्थाले नगददेखि खाद्यान्न, औषधि, अस्थायी आवास र उद्धार सामग्रीसम्म सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।
अन्तर्राष्ट्रिय सहयोगमा कोबाट कति?
एसियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका रूपमा ५० लाख अमेरिकी डलर अनुदान दिने प्रतिबद्धता जनाएको छ। त्यस्तै, बाढी प्रभावित क्षेत्रका लागि प्राविधिक सहयोगस्वरूप थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने भएको छ।
विश्व बैंकले प्रभावित क्षेत्रको पुनःस्थापना तथा अन्य आवश्यक कामका लागि १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको छ। नेपालले औपचारिक अनुरोध गरेपछि उक्त रकम प्राप्त हुने अर्थ मन्त्रालयले जनाएको छ।
अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर नगद सहयोग घोषणा गरेको छ भने अस्ट्रेलियाले ५० लाख अस्ट्रेलियन डलर उपलब्ध गराउने जनाएको छ।
भारतबाट तीन चरणमा हालसम्म ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि नेपाल भित्रिसकेको छ। चीनले ३० वटा बेलिब्रिज उपलब्ध गराउने घोषणा गर्नुका साथै शव व्यवस्थापनका लागि २ हजार एयरटाइट ब्याग सहयोग गर्ने जनाएको छ।
स्विट्जरल्यान्डले संयुक्त राष्ट्रसंघमार्फत खर्च गर्ने गरी १० लाख स्वीस फ्रयाङ्क सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आईएफआरसी)ले खोज, उद्धार तथा पुनःस्थापनाका लागि तत्काल १२ लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ।
गैरसरकारी संस्थाको सहयोग पनि बढ्दै
बाढी प्रभावित तीन जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खाद्यान्न, टेन्ट, सरसफाइ सामग्री, पानी शुद्धीकरणका साधन, स्वास्थ्य सामग्री तथा उद्धार उपकरण उपलब्ध गराउन थालेका छन्।
अक्सफामले सरसफाइका २०० प्याकेट र पानी शुद्धीकरणका लागि १ हजार एक्वा ट्याब्लेट उपलब्ध गराएको छ। साथै करिब १ करोड ६० लाख रुपैयाँ बराबरका अस्थायी आवास तथा गैरखाद्य सामग्री तयारी अवस्थामा राखेको जनाएको छ।
डिसिए नेपालले धादिङमा गमबुट, पिक्याक्स, बेल्चा, पञ्जा र मास्कसहित उद्धार सामग्री उपलब्ध गराएको छ। सेभ द चिल्ड्रेनले नुवाकोटमा २०० गैरखाद्य राहत सामग्री वितरण गरिसकेको छ भने थप ८०० सामग्री उपलब्ध रहेको जनाएको छ।
ब्लिकनाओ फाउन्डेसनले नुवाकोटका लागि दुईवटा जेनेरेटर तथा बिबिसी मिडिया एक्सनले रसुवा र नुवाकोटका तीन रेडियोका लागि तीनवटा जेनेरेटर उपलब्ध गराएको छ।
एड्रा नेपाल, हेलेन केलर इन्टरनेसनल, इस्लामिक रिलिफ नेपाल, प्लान इन्टरनेसनल, पिपुल इन निड, मर्सी कप्र्स, युनाइटेड मिसन टु नेपाल, ह्यान्डिक्याप इन्टरनेसनल र केयर नेपाललगायत संस्थाले पनि प्रभावित जिल्लामा खाद्यान्न, अस्थायी आवास, खानेपानी, सरसफाइ, स्वास्थ्य, पोषण तथा गैरखाद्य सामग्री उपलब्ध गराउने वा वितरण गरिरहेका छन्।
यसबाट राहतको दायरा खाद्यान्न वितरणमा मात्र सीमित नरही अस्थायी आवास, खानेपानी, सरसफाइ, स्वास्थ्य, पोषण, सञ्चार, उद्धार उपकरण तथा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिको आवश्यकतासम्म विस्तार भएको देखिन्छ।
प्रधानमन्त्री राहत कोषमा साढे ४ अर्बभन्दा बढी
यसैबीच बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा पनि ठूलो रकम जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार रातिसम्म विभिन्न नौ वाणिज्य बैंकमा रहेको खातामार्फत ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ जम्मा भइसकेको छ।
त्यसैगरी हिमालयन र लक्ष्मी बैंकका खातामा ६ लाख ८० हजार ६१८ अमेरिकीडलर पनि संकलन भएको छ, जुन करिब १० करोड ३८ लाख रुपैयाँ बराबर हुन्छ।
यसरी रसुवा बाढीपछि प्रभावितको तत्काल उद्धारदेखि दीर्घकालीन पुनःस्थापनासम्मका लागि सरकारी कोषसँगै अन्तर्राष्ट्रिय दातृ निकाय, विदेशी सरकार तथा गैरसरकारी संस्थाबाट सहयोग परिचालन भइरहेको छ।
फाइल तस्बिर अर्थ मन्त्रालय
