बाढी प्रभावित ५ जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषित
काठमाडौँ । सरकारले बाढीबाट गम्भीर रूपमा प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।
गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै गरिएको उक्त निर्णय नेपाल राजपत्रमा प्रकाशित गरेको हो।
भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण नेपाल–चीन सीमा आसपासदेखि तल्लो तटीय क्षेत्रमा रहेका बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर राहत तथा पुनःस्थापनाका काम अघि बढाउन यस्तो निर्णय गरिएको हो।
राजपत्रमा प्रकाशित सूचनाअनुसार संकटग्रस्त घोषित स्थानीय तहहरूमा रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका छन्।
त्यस्तै नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका, धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका संकटग्रस्त क्षेत्रमा परेका छन्।
यसैगरी गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिका पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषित भएका छन्।
सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै ती स्थानीय तहमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको उद्धार तथा राहत, अस्थायी पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन कानुनी आधार थप सहज हुने जनाएको छ।
तीन महिनासम्म लागू हुने घोषणाले बाढीबाट प्रभावित स्थानीय तहमा आवश्यक स्रोत परिचालन तथा पुनःस्थापनाका कार्यक्रमलाई तीव्रता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
