नेपाल लाइफले विपद् राहत कोषमा २ करोड ५१ लाख रुपैयाँ प्रदान
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो।
सहयोग रकमको चेक नेपाल लाइफका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
कम्पनीले विपद्बाट प्रभावित परिवारको तत्काल उद्धार, राहत वितरण र पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ।
नेपाल लाइफले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा संकटका बेला राज्य र समुदायसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ। साथै, प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो क्षमता र क्षेत्रअनुसार सहयोग गर्न सबैलाई आह्वान गरेको छ।
