सुरूङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन, ११ आयोजनाका ८९८ जना अझै बेपत्ता
माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत आयोजनाको सुरूङको प्रवेशद्वारमा थुप्रिएको लेदो पन्छाइँदै। तस्बिर स्रोत: प्रधानमन्त्रीको सचिवालय
काठमाडौं — भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरूङ तथा आसपासका क्षेत्रमा सम्पर्कविहीन भएका श्रमिक र प्राविधिकको खोज तथा उद्धारका लागि चिनियाँ विशेषज्ञ टोली परिचालन गरिएको छ।
सरकारले रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको सुरूङमा फसेकाहरूको उद्धारका लागि ६ सदस्यीय चिनियाँ प्राविधिक टोली खटाएको हो। चिनियाँ हेलिकप्टरबाट त्रिशूली क्षेत्रमा पुगेको टोलीले नेपाली सेनाका विज्ञसँग सहकार्य गर्दै सुरूङको भौतिक अवस्था, जोखिम र उद्धारको सम्भावनाबारे प्राविधिक अध्ययन गर्नेछ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार प्रारम्भिक अध्ययनबाट उद्धार सम्भव देखिए रसुवा सीमाक्षेत्रमा तयारी अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई समेत तत्काल परिचालन गरिनेछ।
बाढीले प्रवेशद्वार पुरिएपछि माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरूङमा पनि उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरूङको मुखमा थुप्रिएको लेदो, ढुंगा र भग्नावशेष हटाउन एक्स्काभेटरसहितका उपकरण प्रयोग भइरहेको छ। बाटो खुल्नेबित्तिकै उद्धार टोली सुरूङभित्र प्रवेश गर्ने तयारीमा छ।
उक्त आयोजनाको सुरूङमा उद्धारका लागि भइरहेको ड्रिलिङबाट केही प्रगति भएको बताइएको छ। ड्रिलिङका क्रममा सुरूङको माथिल्लो भाग अर्थात् ‘क्राउन’ पहिचान भएपछि त्यहाँबाट अक्सिजन पठाउने प्रयास भइरहेको छ। प्वालमार्फत अक्सिजन र आवश्यक उपकरण पठाउँदै भित्रको लेदो हटाएर उद्धार मार्ग बनाउने काम जारी छ।
यसैबीच प्रतिकूल मौसमका कारण त्रिशूली–३ ‘ए’ लगायतका क्षेत्रमा चिनियाँ प्राविधिक टोली पुर्याउन कठिनाइ भएको सरकारले जनाएको छ। मौसम अनुकूल हुनेबित्तिकै रसुवाका अन्य सुरूङमा पनि विज्ञ टोली परिचालन गर्ने तयारी छ।
११ आयोजनाका ८९८ जना सम्पर्कविहीन
बाढीबाट भएको क्षति र उद्धारमा देखिएको भौगोलिक तथा प्राविधिक कठिनाइका कारण रसुवा र नुवाकोटका ११ जलविद्युत आयोजनामा कार्यरत ८९८ जना अझै सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ।
इप्पानका अनुसार रसुवाका ६ र नुवाकोटका ५ आयोजनाका श्रमिक तथा कर्मचारी सम्पर्कविहीन छन्। शनिबारसम्म विभिन्न आयोजनाबाट ३६१ जनाको जीवितै उद्धार भइसकेको छ।
रसुवामा सबैभन्दा धेरै प्रभावित माथिल्लो त्रिशूली–१ आयोजना हो। २१६ मेगावाट क्षमताको उक्त आयोजनामा ५७६ जना सम्पर्कविहीन रहेको विवरण छ। तीमध्ये ३०० जना सुरूङभित्र फसेको बताइएको छ। हालसम्म २५४ जनाको उद्धार गरिएको छ।
रसुवाका अन्य आयोजनामा रसुवागढीमा ९३, लाङटाङ खोलामा ४२, चिलिमेमा ८, मैलुङ खोलामा ७ र रसुवा–भोटेकोशीमा ४ जना सम्पर्कविहीन छन्।
नुवाकोटतर्फ माथिल्लो त्रिशूली–३ ‘बी’ मा १२२, माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२, मिडल त्रिशूली गंगामा २ तथा त्रिशूली र देवीघाट आयोजनामा एक–एक जना सम्पर्कविहीन रहेको इप्पानको विवरणमा उल्लेख छ।
लाङटाङ खोला आयोजनाबाट उद्धार गरिएका १८ जना सुरूङभित्र फसेका व्यक्तिको सूचीमा नरहेको आयोजनाले स्पष्ट पारेको छ। आयोजनाका प्रबन्ध निर्देशक एवं इप्पानका सचिव विजयमोहन भट्टराईका अनुसार त्यहाँ ६० जना कर्मचारी सम्पर्कविहीन भएका थिए, जसमध्ये २५ जना मात्रै सुरूङभित्र काम गरिरहेका थिए।
भट्टराईले उद्धारका लागि आवश्यक संयन्त्र समयमै परिचालन हुन सकेको भए सुरूङभित्र काम गरिरहेका श्रमिकलाई सुरक्षित निकाल्न सहज हुने बताएका छन्। उनका अनुसार लाङटाङ आयोजनाको सुरूङ चिलिमे जलविद्युत आयोजनाबाट करिब ५०० मिटरको दूरीमा रहेको र स्याफ्रुबेसीको पारिपट्टि पर्छ।
माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत आयोजनाको सुरूङको प्रवेशद्वारमा थुप्रिएको लेदो पन्छाइँदै। तस्बिर स्रोत: प्रधानमन्त्रीको सचिवालय
