भोटेकोशी बाढीमा २६१ विदेशी पर्यटकको उद्धार, ३२० अझै बेपत्ता
काठमाडौं — रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन भएका विभिन्न मुलुकका २६१ पर्यटकको उद्धार गरिएको छ। अझै ३२० जना पर्यटक सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बुधबार बिहान भोटेकोशीमा आएको बाढीपछि गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्रामा रहेका पर्यटकमध्ये शनिबार साँझसम्म १६ देशका २६१ जनालाई सुरक्षित स्थानमा ल्याइएको बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले जानकारी दिए।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतका १६७ जना छन्। चीनका ४०, युक्रेनका ८, जर्मनीका ४, माल्टाका ४, इटालीका ३, अमेरिका र स्पेनका ३/३ तथा रसिया, स्पेन, स्वीजरल्यान्ड र टर्कीलगायतका देशका पर्यटक पनि उद्धार भएका छन्। यसबाहेक परिचय तथा राष्ट्रियता खुल्न नसकेका २१ जनालाई समेत उद्धार गरिएको बोर्डले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा अझै सम्पर्कविहीन रहेका पर्यटकको खोजी तथा उद्धारलाई तीव्र पारिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य निकाय संयुक्त रूपमा उद्धार अभियानमा जुटेका छन्।
घाइते तथा विभिन्न स्थानमा अलपत्र परेका पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ।
पर्यटकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको भन्दै पर्यटन बोर्डले प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा उनीहरूका परिवारलाई धैर्य र सतर्कता अपनाउन आग्रह गरेको छ।
बोर्डले उद्धार तथा आवश्यक जानकारीका लागि टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।
