बाढीपछि बेपत्ताको संख्या एकैदिन १ हजार ७४५ ले बढ्यो, कारण के हो?
बाढीले प्रभावित देवीघाट बजार आसपासको क्षेत्र नुवाकोट, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं ५ देवीघाट बजार आसपासको प्रभावित क्षेत्र । तस्बिरः रामहरि न्यौपाने/रासस
काठमाडौं — तिब्बत हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन हुनेको संख्या एकैदिन उल्लेख्य रूपमा बढेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबारसम्म बाढीमा परी सम्पर्कविहीन हुनेको संख्या ४ हजार २४७ पुगेको छ। आइतबार रातिसम्म यस्तो संख्या २ हजार ५०२ थियो। यसरी एकैदिन १ हजार ७४५ जना थपिएका हुन्।
सम्पर्कविहीनको संख्या अचानक बढ्नुको मुख्य कारण रसुवा र नुवाकोटबाट थप विवरण प्राप्त हुनु रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता तथा उपसचिव शान्ति महतका अनुसार जिल्ला प्रशासन कार्यालयअन्तर्गतका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (डीओसी) ले विपद्का बेला हराएका तथा सम्पर्कविहीन व्यक्तिको विवरण संकलन गर्छ। उक्त विवरण केन्द्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र (एनईओसी) हुँदै प्राधिकरणमा पुग्छ र आवश्यक रूजु तथा प्रमाणीकरणपछि सार्वजनिक गरिन्छ।
सोमबारको तथ्यांकमा नुवाकोटबाट मात्रै १ हजार ५५८ जना सम्पर्कविहीन रहेको विवरण आएको छ। आइतबारसम्म नुवाकोटको संख्या ११५ थियो। त्यस्तै, रसुवामा सम्पर्कविहीनको संख्या ५६२ बाट बढेर ८६५ पुगेको छ।
यसरी रसुवा र नुवाकोटबाट मात्रै एक दिनमा १ हजार ७४६ जना थपिएको देखिन्छ। यही कारण समग्र सम्पर्कविहीनको संख्या पनि ह्वात्तै बढेको प्राधिकरणको भनाइ छ।
बाढीको भयावह अवस्थाका कारण प्रभावित क्षेत्रबाट प्रशासनमा विवरण ढिलो आइपुग्दा पनि तथ्यांक बढेको महतले बताइन्। उनका अनुसार विपद्पछि आफन्त तथा स्थानीय तहबाट ढिलो गरी जानकारी आउने भएकाले सुरुमा सार्वजनिक भएको संख्या पछि थपिँदै जान सक्छ।
सम्पर्कविहीनको सूचीमा मृतक पनि पर्न सक्छन्
प्राधिकरणका अनुसार अहिले सार्वजनिक गरिएको सम्पर्कविहीनको तथ्यांकलाई पूर्ण रूपमा बेपत्ता व्यक्तिको अन्तिम सूची मान्न सकिँदैन। पहिचान नखुलेसम्म फेला परेका शवसमेत सम्पर्कविहीनकै विवरणमा पर्न सक्ने अवस्था रहेको महतले बताइन्।
बाढीपछि फेला परेका कतिपय शवको अझै पहिचान हुन नसकेकाले मृतकको संख्या पनि सम्पर्कविहीनको सूचीमा समावेश हुन सक्ने उनको भनाइ छ।
प्राधिकरणले आधिकारिक रूपमा दर्ता भएका तथा सम्बन्धित निकायबाट पत्रसहित पठाइएका विवरणलाई मात्र तथ्यांकमा समावेश गर्दै आएको जनाएको छ। मौखिक जानकारीका आधारमा भने विवरण सार्वजनिक नगरिने बताइएको छ।
सरकारी कार्यालयबाट प्राप्त छुट्टाछुट्टै विवरण पनि समेटिने भएकाले एउटै व्यक्तिको नाम दोहोरिन नदिन रूजु र प्रमाणीकरणलाई प्राथमिकता दिइएको प्राधिकरणको भनाइ छ।
रसुवामा अझै बढ्न सक्छ बेपत्ताको संख्या
रसुवाको अवस्था अझै स्पष्ट भइनसकेको जिल्ला प्रशासनले जनाएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा ठूलो क्षति भएकाले यकिन तथ्यांक संकलन गर्न कठिन भइरहेको छ।
उनले जिल्लामा सम्पर्कविहीन हुनेको संख्या हाल सार्वजनिक गरिएकोभन्दा अझै बढ्न सक्ने संकेत गरेका छन्।
रसुवा प्रशासनले जिल्लाभित्रका सम्पर्कविहीन व्यक्तिहरूको छुट्टै विवरणसमेत सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
यसैबीच, प्राधिकरणले सर्वसाधारणले समेत आफ्ना आफन्त सम्पर्कविहीन भएको विवरण दर्ता गर्न सक्ने गरी ‘सेतु एप’ तयार गरिरहेको जनाएको छ। एउटै व्यक्तिको विवरण धेरै आफन्तले दर्ता गर्न सक्ने सम्भावना भएकाले अहिले प्राधिकरणले तथ्यांकलाई थप रूजु र अद्यावधिक गर्ने काम गरिरहेको छ।
बाढीले प्रभावित देवीघाट बजार आसपासको क्षेत्र नुवाकोट, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं ५ देवीघाट बजार आसपासको प्रभावित क्षेत्र । तस्बिरः रामहरि न्यौपाने/रासस
