पहिरोले केहीबेर थुनिएको चौलानी फेरि सामान्य, बस्तीमा भने जोखिम कायमै
दार्चुला। अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरो खसेर केही समय अवरुद्ध बनेको चौलानी नदीको बहाव अहिले सामान्य अवस्थामा फर्किएको छ। पहिरोका कारण नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रमा जोखिम बढेको थियो।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार पहिरोले नदीको बहाव केहीबेर प्रभावित भए पनि पहिरोबाट बनेको अवरोध आफैं हटेपछि नदी नियमित रूपमा बग्न थालेको हो।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले अहिले नदीमा कुनै असामान्य अवस्था नरहेको जानकारी दिए। उनका अनुसार पहिरो खस्ने क्रम पनि तत्कालका लागि रोकिएको छ।
पहिरोका कारण अपिहिमाल आधार शिविरतर्फ जाने सडक तथा पैदलमार्ग भने अवरुद्ध भएको छ। घटनास्थल आसपासको बस्तीलाई प्रत्यक्ष क्षति नपुगे पनि पहिरोको जोखिमका कारण स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
भट्टार क्षेत्रमा यसअघि पनि पहिरो जाने गरेको स्थानीय प्रशासनले जनाएको छ। पछिल्लो घटनापछि नदी थुनिएर एक्कासि ठूलो बहाव आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले चौलानी नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्तीलाई सतर्क गराएको थियो।
हाल नदीको बहाव सामान्य रहे पनि पहिरो प्रभावित क्षेत्रमा जोखिम पूर्ण रूपमा टरेको छैन। प्रशासनले अवस्था निगरानीमा राखेको जनाएको छ।
