आगामी तीन दिन नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौँ । आगामी तीन दिन देशभरका प्रमुख तथा सहायक नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीसहित विभिन्न नदी प्रणालीमा जलसतह बढ्ने सम्भावना छ।
महाशाखाका अनुसार अहिले अधिकांश प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तलै छ। तर आगामी दिनमा वर्षाका कारण नदीको जलसतह बढ्न सक्ने भएकाले जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।
कोशी, नारायणी, कर्णाली र महाकाली नदी प्रणालीका अधिकांश क्षेत्रमा तीनै दिन जलसतह बढ्ने अनुमान छ। कन्काई, बबई र पश्चिम राप्तीमा पनि निरन्तर बहाव बढ्ने पूर्वानुमान गरिएको छ।
बागमती र पूर्वी राप्तीमा बिहीबार सामान्य वृद्धि भए पनि शुक्रबार र शनिबार बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ। कमला नदीमा बिहीबार र शुक्रबार जलसतह बढ्ने भए पनि शनिबार वृद्धि सामान्य रहने अनुमान छ।
यी जिल्लामा बढी जोखिम
आज ताप्लेजुङ, संखुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, रुकुम पूर्व, रुकुम पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला र बैतडी भएर बग्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान छ।
यी जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
विशेषगरी नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्थाका बस्तीमा बसोबास गर्नेहरूलाई थप सतर्कता अपनाउन आग्रह गरिएको छ।
शनिबारसम्म जोखिम कायमै
महाशाखाका अनुसार शुक्रबार र शनिबार पनि सातै प्रदेशका केही साना नदी तथा खोलामा बहाव अचानक बढ्न सक्ने सम्भावना छ।
जलसतह बढ्ने क्रमसँगै नदी तथा खोलामा अचानक बाढी आउन सक्ने भएकाले स्थानीय तह, सुरक्षा निकाय र नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक पूर्वतयारी गर्न महाशाखाले सुझाव दिएको छ।
महाशाखाले नदीमा पानीको बहाव बढेको अवस्थामा खोलानाला पार गर्ने, नदी किनारमा जाने तथा जोखिमपूर्ण क्षेत्रमा बस्ने काम नगर्न पनि सचेत गराएको छ।
