आज कुशे औँशी, बुवाको सम्मान गर्ने दिन
काठमाडौं — वैदिक सनातन धर्मावलम्बीले आज कुशे औँशी पर्व मनाउँदैछन्। भाद्रकृष्ण औँसीका दिन पर्ने यस पर्वमा वर्षभर देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने परम्परा छ।
धार्मिक मान्यताअनुसार ब्राह्मणद्वारा विधिपूर्वक पूजा गरी उखेलिएको कुश घरमा ल्याएर राख्दा परिवारमा सुख, शान्ति र कल्याण हुने विश्वास गरिन्छ। आज उखेलिएको कुश वर्षभरि धार्मिक कार्यमा प्रयोग गर्न मिल्ने मान्यता छ भने अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय परम्परा रहेको प्राध्यापक डा. देवमणि भट्टराईले बताए।
सनातन परम्परामा कुशसँगै तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा श्रद्धा गरिन्छ। धार्मिक विश्वासअनुसार ब्रह्माजीले विवेकशील प्राणीको उत्पत्तिसँगै पवित्र कुशको पनि सिर्जना गरेका थिए।
बुवालाई सम्मान गर्ने परम्परा
कुशे औँशीलाई बुवाको मुख हेर्ने दिनका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मन पर्ने परिकार तथा मिठाइ खुवाएर सम्मान गर्ने र आशीर्वाद लिने चलन छ।
बाबुको निधन भइसकेकाहरूले भने तीर्थस्थलमा पुगेर दिवंगत पिताको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्। ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार बाबुलाई श्रद्धा र सम्मान प्रकट गर्ने दिनका रूपमा यस पर्वको विशेष महत्व रहेको छ।
गोकर्णमा विशेष मेला
कुशे औँशीका अवसरमा काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। गोकर्णलाई धार्मिक रूपमा ‘उत्तरगया’ समेत मानिने भएकाले यहाँ दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान र सिदादान गर्न भक्तजनको भीड लाग्ने गर्छ।
गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष तथा मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतका अनुसार मेलाका लागि आवश्यक तयारी पूरा गरिएको छ।
त्यस्तै, रसुवा र नुवाकोटको संगमस्थल वेत्रावतीमा पनि कुशे औँशीका दिन मेला लाग्ने र दिवंगत पिताको नाममा धार्मिक कर्म गर्न श्रद्धालु पुग्ने परम्परा छ। तर यस वर्ष भोटेकोशीमा आएको बाढीका कारण वेत्रावतीमा मेला सञ्चालन हुने विषय भने निश्चित भइसकेको छैन।
धार्मिक ग्रन्थहरूमा कुशे औँशीका दिन पितृको सम्झनामा गरिने तर्पण, दान तथा श्राद्धबाट पुण्य प्राप्त हुने उल्लेख छ। त्यसैले जीवित बाबुको सम्मानदेखि दिवंगत पिताको स्मरणसम्म, यो पर्वलाई पितृप्रति श्रद्धा व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ।
