बारीबाट हराउँदै भटमास, तराईबाट किन्नुपर्ने बाध्यता
तेह्रथुम । केही वर्षअघिसम्म तेह्रथुमका गाउँबस्तीका बारीमा बाक्लै देखिने भटमासका बोट अहिले विरलै भेटिन्छन्। म्याङलुङ आसपासका क्षेत्रमा कुनै समय प्रमुख दलहन बालीका रूपमा लगाइने भटमास पछिल्लो दशकमा खेती क्षेत्र र उत्पादन दुवै घट्दै गएपछि लोपोन्मुख अवस्थामा पुगेको छ।
स्थानीयका अनुसार खेती प्रणालीमा आएको परिवर्तन, रासायनिक मलको बढ्दो प्रयोग तथा मकैजस्ता अन्य बालीप्रतिको आकर्षणले भटमास खेतीलाई विस्थापित गर्दै लगेको हो।
भटमास स्थानीयको खानपान र कृषि संस्कृतिसँग जोडिएको महत्वपूर्ण बाली हो। यसको हरियो कोशा उसिन्ने तथा तरकारीका रूपमा खानेदेखि पाकेको दाना भुटेर खाने चलन छ। स्थानीय परम्परामा भटमासबाट किनिमा बनाउने गरिन्छ भने यसबाट तेलसमेत उत्पादन गर्न सकिन्छ। प्रोटिनको राम्रो स्रोत मानिने भएकाले पोषणका हिसाबले पनि यसको महत्व छ।
म्याङलुङ बजार आसपासका सुक्खा, पानी नजम्ने र दोमट माटो भएका जमिन भटमास खेतीका लागि उपयुक्त मानिन्छन्। म्याङलुङ, तम्फुलालगायत क्षेत्रमा विगतमा किसानले ठूलो परिमाणमा भटमास उत्पादन गर्ने गरेको स्थानीयको भनाइ छ।
म्याङलुङ नगरपालिका–२ मेयङलुङ गाउँका मनी खापुङका अनुसार पहिले बारीमा भटमाससँगै अन्य रैथाने बाली पनि प्रशस्त लगाइन्थ्यो। तर पछिल्लो समय खेती गर्ने शैली फेरिएसँगै पुराना बालीको उत्पादन घटेको छ।
“पहिले हाम्रो बारीमा भटमाससँगै अन्य रैथाने बाली पनि प्रशस्त हुन्थे,” उनले भने, “अहिले खेती गर्ने तरिका परिवर्तन भएको छ, रासायनिक मलको प्रयोग बढेसँगै पुराना बालीको उत्पादन पनि घट्दै गएको छ।”
भटमाससँगै स्थानीय जातका सिमी, विभिन्न दाल तथा कोदोको खेतीसमेत घट्दै गएको स्थानीय बताउँछन्। म्याङलुङ नगरपालिका–२ की देवीमाया राईका अनुसार रैथाने बाली हराउँदै जाँदा स्थानीय उत्पादनमा मात्र होइन, परम्परागत खानपानमा समेत असर परेको छ।
“हाम्रा बाउबाजेले लगाउँदै आएका धेरै बाली अहिले खेतबारीमा देखिन छाडेका छन्,” उनले भनिन्, “बाली मात्र हराएको होइन, त्यससँग जोडिएको खानपान र परम्परा पनि विस्तारै हराउँदै गएको छ।”
म्याङलुङबाहेक तम्फुला र बिस्कुने क्षेत्रमा पनि भटमास खेती घटेको छ। विगतमा यही मौसममा हरियो कोशाले भरिएका भटमासका बोटले बारी ढाक्ने गरे पनि अहिले फाट्टफुट्ट मात्र देखिने स्थानीय बताउँछन्।
म्याङलुङ नगरपालिका–१० बिस्कुनेका किसान प्रेम पताङ्वाका अनुसार केही ठाउँमा भटमासका बोट देखिए पनि उत्पादन विगतको तुलनामा निकै कम छ। “अहिले बारीमा भटमासको ठाउँ मकैले लिएको छ,” उनले भने।
कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईले पनि रासायनिक मल प्रयोग हुने क्षेत्रमा भटमासको उत्पादन घटेको बताएका छन्। माटोको अवस्था, खेती प्रणालीमा आएको परिवर्तन र रासायनिक मलको बढ्दो प्रयोगले रैथाने बालीको उत्पादन प्रभावित भएको हुनसक्ने उनको भनाइ छ।
भटमास दलहनसँगै तेलहन बाली पनि हो। हरियो कोशा, पाकेको दाना, किनिमा र तेलका रूपमा प्रयोग गर्न सकिने भएकाले यसको उपयोग बहुआयामिक छ। विशेषगरी पहाडी समुदायको परम्परागत खानामा यसको महत्वपूर्ण स्थान रहँदै आएको छ।
तर स्थानीय उत्पादन घट्दै गएपछि अहिले म्याङलुङ आसपासका उपभोक्ताले भटमासका लागि तराईमा निर्भर हुनुपर्ने अवस्था आएको छ। कुनै समय आफ्नै बारीमा पर्याप्त उत्पादन हुने बाली अहिले बाहिरबाट किनेर खानुपर्ने अवस्था आएको स्थानीय बताउँछन्।
कृषि विज्ञहरूका अनुसार रैथाने बाली हराउनु भनेको एउटा कृषि उपज मात्र हराउनु होइन। यससँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको स्थानीय ज्ञान, बीउ संरक्षणको परम्परा, खानपानको संस्कृति र समुदायको कृषि पहिचान पनि कमजोर हुँदै जान्छ।
त्यसैले भटमासजस्ता रैथाने बाली संरक्षणका लागि स्थानीय जातका बीउ जोगाउने, किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने, बजार सुनिश्चित गर्ने तथा परम्परागत खाद्य संस्कृतिको प्रवर्द्धन गर्न आवश्यक देखिएको छ। समयमै संरक्षणका प्रयास नथालिए म्याङलुङ आसपासबाट भटमासको खेती मात्र होइन, यससँग जोडिएको स्थानीय कृषि संस्कृति नै हराउने जोखिम देखिन्छ।
