हिमपहिरोमा पुरिएर मनास्लुमा थप दुई आरोहीको मृत्यु
काठमाडौं । मनास्लु हिमालमा हिमपहिरोमा परी दुई आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार तेस्रो शिविरमा टेन्टभित्र सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरोले उनीहरूलाई पुरेको थियो। करिब सात फिट हिउँभित्र पुरिएका दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिमार्फत मनास्लु आरोहणमा गएका थिए। उनीहरूको शव हेलिकप्टरबाट सोमबार काठमाडौं ल्याउने तयारी गरिएको छ।
योसँगै यस आरोहण सिजनमा मनास्लुमा मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि सिंगापुरका ५० वर्षीय आरोही लाउ वी सेङको दोस्रो शिविरमा मृत्यु भएको थियो। त्यस्तै, २० वर्षीय नेपाली आरोहण सहयोगी टासी शेर्पाको आधारशिविरमा मृत्यु भएको थियो।
यस सिजन मनास्लु आरोहणका लागि ४८० जना विदेशी आरोहीले अनुमति लिएका छन्। आरोहणका लागि आवश्यक रोप फिक्सिङको काम पूरा भइसकेको छ भने आरोहीहरू शिखर आरोहणको अन्तिम तयारीमा छन्।
