धाप बाँधको पानीको सतहमा निरन्तर निगरानी
काठमाडौं— लगातारको वर्षापछि काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप बाँधलाई जलस्रोत तथा सिँचाइ विभागले विशेष निगरानीमा राखेको छ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण पछिल्ला तीन दिनदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ। निरन्तर वर्षाका कारण धाप बाँधको सुरक्षालाई लिएर चासो बढेपछि विभागले बाँध र जलाशयको अवस्थालाई थप प्राथमिकताका साथ अनुगमन गर्न थालेको हो।
विभागका अनुसार पछिल्लो समय वर्षाको मात्रा क्रमशः कम हुँदै गएको छ। वर्षा घटेसँगै बाँधमा भित्रिने पानीको मात्रा अर्थात् इनफ्लो पनि कम हुने अपेक्षा गरिएको छ। अहिले जलाशयको पानीको सतह र लेभललाई प्राविधिक टोलीमार्फत विशेष निगरानीमा राखिएको विभागले जनाएको छ।
जलाशयको पानीको व्यवस्थापनसमेत नियमित रूपमा भइरहेको विभागको भनाइ छ। बाँधको अवस्था र पानीको मात्रा प्राविधिक रूपमा निरन्तर निरीक्षण तथा व्यवस्थापन भइरहेकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ।
विभागले बाँधको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर आवश्यक सावधानी र पूर्वतयारीका कामहरू अघि बढाइरहेको जनाएको छ।
धाप बाँध फुट्न सक्ने लगायतका विषयमा फैलिएका हल्लाको पछि नलाग्न पनि विभागले सर्वसाधारणलाई आग्रह गरेको छ। बाँधको वास्तविक अवस्थाबारे आधिकारिक निकायबाट जारी हुने सूचना र विवरणलाई मात्र आधार मान्न विभागले अनुरोध गरेको छ।
विभागका अनुसार बाँध तथा जलाशयको सुरक्षित व्यवस्थापनका लागि निगरानी र आवश्यक प्राविधिक प्रक्रिया निरन्तर जारी रहनेछ।
