नागोया एसियाड सम्पन्न, २०३० मा दोहामा भेट्ने सन्देश
नागोया । जापानको आइची–नागोयामा आयोजित २०औँ एसियन गेम्स भव्य समारोहबीच आइतबार सम्पन्न भएको छ। समापनसँगै अब एसियाली खेलकुदको अर्को संस्करण सन् २०३० मा कतारको दोहामा आयोजना हुने भएको छ
नागोयास्थित मिजुहो स्टेडियममा भएको समापन समारोहमा २१औँ एसियन गेम्सको आयोजक सहर दोहालाई झण्डा हस्तान्तरण गरिएपछि २०औँ संस्करण औपचारिक रूपमा सकिएको घोषणा गरिएको हो।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अध्यक्ष शेख बिन जोअन बिन हमाद अल थानीले खेलकुद आयोजना सफल बनाउन योगदान पुर्याएको जापानको आइची प्रिफेक्चर र नागोया सहरप्रति आभार व्यक्त गरे।
समापन समारोहका क्रममा ओसीए अध्यक्ष थानीले आगामी संस्करणको आयोजक कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई टर्च हस्तान्तरण गरेका थिए। कतारले दोस्रोपटक एसियन गेम्स आयोजना गर्न लागेको हो। यसअघि सन् २००६ मा दोहाले एसियाडको आयोजना गरेको थियो।
दोहाको झलकसँगै समापन
सन् २०३० मा आयोजना हुने दोहा एसियाडलाई लक्षित गर्दै समापन समारोहमा विशेष भिडियो प्रस्तुति गरिएको थियो। ‘२०३० मा दोहामा भेटौँला’ भन्ने सन्देशसहित प्रस्तुत गरिएको भिडियोले आगामी एसियाली खेलकुदको झलकसमेत प्रस्तुत गरेको थियो।
१६ दिनसम्म चलेको २०औँ एसियन गेम्समा एसियाका विभिन्न देशबाट १७ हजारभन्दा बढी खेलाडी तथा अफिसियल सहभागी भएका थिए। विभिन्न खेलका ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।
समापन समारोहमा सहभागी राष्ट्रका खेलाडी तथा प्रतिनिधिले मार्चपास्ट गरेका थिए। त्यससँगै प्रतियोगिताका मुख्य क्षण समेटिएको भिडियो प्रदर्शन, सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरू पनि राखिएका थिए।
नेपालका तर्फबाट तेक्वान्दो, जुडो, कुस्ती लगायतका खेलका खेलाडी तथा प्रतिनिधि मार्चपास्टमा सहभागी भएका थिए।
पदक तालिकामा चीनकै वर्चस्व
एसियन गेम्सको पदक तालिकामा चीनले यसपटक पनि आफ्नो दबदबा कायम राख्यो। चीनले १६९ स्वर्ण, ८९ रजत र ८१ कांस्यसहित कुल ३४१ पदक जित्दै शीर्ष स्थान हासिल गर्यो।
आयोजक जापान ८३ स्वर्ण, ८५ रजत र ९१ कांस्यसहित कुल २६९ पदकका साथ दोस्रो स्थानमा रह्यो। दक्षिण कोरियाले ३९ स्वर्ण, ६३ रजत र ६८ कांस्यसहित १५० पदक जित्दै तेस्रो स्थान हासिल गर्यो।
भारत २१ स्वर्ण, २७ रजत र ३७ कांस्यसहित कुल ८५ पदक जितेर चौथो भयो।
नेपाल भने दुई कांस्य पदकसहित पदक तालिकामा संयुक्त रूपमा ३६औँ स्थानमा रह्यो। यसअघि १९औँ एसियाडमा नेपाल ३३औँ स्थानमा थियो।
प्रतियोगितामा सहभागी ४५ राष्ट्रमध्ये भुटान, माल्दिभ्स, प्यालेस्टाइन, टिमोर लेस्टे र यमनसहित रिफ्युजी टिमले कुनै पनि पदक जित्न सकेनन्।
नेपालले दुई कांस्यमा चित्त बुझायो
नेपालले २०औँ एसियन गेम्समा २१ खेलमा सहभागिता जनाएको थियो। १३५ नेपाली खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरे पनि नेपालले दुईवटा कांस्य पदकमा सीमित हुनुपर्यो।
करातेमा तेन्जिङ शेर्पाले पुरुष ८४ केजीमाथिको स्पर्धामा कांस्य पदक जिते भने महिला कबड्डी टोलीले पनि कांस्य पदक हात पार्यो।
महिला कबड्डी टोलीले लगातार दोस्रोपटक एसियन गेम्सको टिम स्पर्धामा पदक जितेर आफ्नो निरन्तरता कायम गरेको छ।
करातेबाट थप पदकको अपेक्षा गरिएको भए पनि तेन्जिङबाहेक अन्य खेलाडीले पदक जित्न सकेनन्। १९औँ एसियाडमा रजत पदक जितेर इतिहास रचेकी एरिका गुरुङबाट यसपटक स्वर्ण पदकको अपेक्षा गरिएको थियो। तर उनीसहित अन्य नेपाली कराते खेलाडी पदकविहीन रहे।
अब एसियाली खेलकुदको अर्को अध्याय सन् २०३० मा कतारको दोहाबाट सुरु हुनेछ।
