भोटेकोशी बाढीपछि रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कबाहिर
रसुवा । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवाका चार विद्यालयका ४५ विद्यार्थी अझै परिवार तथा विद्यालयको सम्पर्कमा आउन सकेका छैनन्
शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीले जिल्लाका तीन सामुदायिक र एक निजी विद्यालयमा पूर्ण क्षति पुर्याएको छ। बाढीबाट नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
सम्पर्कविहीन रहेका विद्यार्थीमध्ये टिमुरेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका २५ जना छन्। त्यस्तै मालिकादेवी आधारभूत विद्यालयका ११, मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका आठ र चिप्लेटी आधारभूत विद्यालयका एक विद्यार्थी सम्पर्कमा नरहेको इकाई प्रमुख सिलवालले बताए।
प्रभावित विद्यार्थीका लागि वैकल्पिक पढाइ
विद्यालयका भवन बाढीले क्षतिग्रस्त भएपछि प्रभावित विद्यार्थीको पढाइ रोक्न नदिन वैकल्पिक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ।
चिप्लेटी आधारभूत विद्यालयका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँका विद्यालयमा अध्ययनका लागि पठाइएको छ। मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी माध्यमिक विद्यालय, भलायडाँडामा पढ्ने व्यवस्था मिलाइएको छ।
त्यस्तै मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई नीलकण्ठ माध्यमिक विद्यालयमा पठनपाठनको व्यवस्था गरिएको छ। विद्यार्थीको सहजताका लागि त्यहाँ बसोबासको समेत प्रबन्ध गरिएको जनाइएको छ।
चार स्थानीय तहका विद्यालय प्रभावित
बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिका गाउँपालिकाका विद्यालयहरू पूर्ण रूपमा बन्द भएका थिए। विद्यालय भवन तथा भौतिक संरचनामा क्षति पुगेपछि नियमित पठनपाठन प्रभावित भएको हो।
यता नौकुण्ड गाउँपालिकामा भने भदौ ११ गतेदेखि नै विद्यालयमा पठनपाठन पुनः सुरु गरिएको शिक्षा तथा समन्वय इकाईले जनाएको छ।
बाढीबाट क्षतिग्रस्त विद्यालयको पुनःस्थापना र विद्यार्थीको नियमित पठनपाठनलाई निरन्तरता दिन स्थानीय तह तथा सम्बन्धित निकायले वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिएका छन्।
