कार्बन बजारलाई संस्थागत बनाउँदै नेपाल, बैंकदेखि अन्तर्राष्ट्रिय लगानीसम्मको तयारी
काठमाडौं । जलवायु परिवर्तनसँग सम्बन्धित गतिविधिलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने उद्देश्यले नेपालमा व्यवस्थित कार्बन बजार निर्माणको तयारी अघि बढाइएको छ। वन तथा प्राकृतिक स्रोतसँगै कृषि, नवीकरणीय ऊर्जा, फोहोर व्यवस्थापन, जैविक कोइला लगायत क्षेत्रको सम्भावनालाई लगानीयोग्य परियोजनामा बदल्ने गरी नयाँ संरचना विकास गर्न लागिएको हो।
नेपालको कार्बन बजार र जलवायु वित्त प्रणालीलाई थप व्यवस्थित बनाउन हेडवेअर्थ र रेजोनान्सले ‘नेपाल कार्बन बजार विकास अभियान’ अघि सारेका छन्। अन्तर्राष्ट्रिय कार्बन बजार विज्ञ डा. डिभाल्डो रेजेन्डेको नेतृत्वमा सञ्चालन हुने यो पहलले परियोजना विकास, लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने तथा दिगो विकासलाई गति दिने लक्ष्य राखेको छ।
अभियानका अनुसार नेपालमा कार्बन तथा जलवायु क्षेत्रको सम्भावना पर्याप्त भए पनि त्यसलाई अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने स्तरका परियोजना र वित्तीय सम्पत्तिमा रूपान्तरण गर्न आवश्यक संस्थागत संरचना अझै बलियो बनाउनुपर्ने अवस्था छ।
तीन क्षेत्रमा प्राथमिकता
कार्बन बजार विकास अभियानले मुख्यतः तीनवटा क्षेत्रमा काम गर्ने योजना बनाएको छ।
पहिलो, क्षमता र ज्ञान अभिवृद्धि हो। सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, समुदायलगायत सरोकारवालालाई कार्बन बजार, जलवायु वित्त र अन्तर्राष्ट्रिय जलवायु नीतिसम्बन्धी आवश्यक ज्ञान तथा सीप उपलब्ध गराउने योजना छ।
दोस्रो, परियोजना विकासलाई प्राथमिकता दिइएको छ। देशका विभिन्न क्षेत्रमा रहेका कार्बन तथा जलवायु सम्भावनाको पहिचान गरी उच्च गुणस्तरका परियोजना तयार गर्ने र तिनलाई लगानीयोग्य बनाउने लक्ष्य राखिएको छ।
तेस्रो, अन्तर्राष्ट्रिय बजार र जलवायु वित्तमा पहुँच विस्तार गर्ने योजना छ। नेपाली परियोजनालाई विदेशी लगानीकर्ता, जलवायु कोष, वित्तीय संस्था, विकास साझेदार र कार्बन खरिदकर्तासँग जोड्ने लक्ष्य अभियानले लिएको छ।
कार्बन बैंक र कोष निर्माणको अवधारणा
नेपालमा दीर्घकालीन र व्यवस्थित कार्बन बजार सञ्चालनका लागि कार्बन बैंक तथा कार्बन कोष स्थापना गर्ने अवधारणा पनि अभियानले अघि सारेको छ।
कार्बन तथा जलवायु परियोजनामा स्वदेशी र विदेशी पुँजी परिचालन गर्न कोष स्थापना गर्ने तथा कार्बन र जलवायु सम्पत्तिलाई वित्तीय प्रणालीसँग जोड्न कार्बन बैंक विकास गर्ने योजना छ।
यसका अतिरिक्त राष्ट्रिय कार्बन अभिलेख प्रणाली तथा कार्बन कारोबार केन्द्र निर्माण र सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्ने अवधारणा पनि अघि सारिएको छ।
यसले परियोजना पहिचानदेखि विकास, प्रभाव मापन, प्रमाणीकरण, अभिलेखीकरण, वित्तीय परिचालन, कार्बन कारोबार र अन्तर्राष्ट्रिय खरिदकर्तासम्म पहुँच पुर्याउने सम्पूर्ण प्रणाली निर्माण गर्ने लक्ष्य बोकेको छ।
परियोजनाको विश्वसनीयतामा जोड
कार्बन बजारमा कुनै परियोजनाले वास्तविक वातावरणीय लाभ दिएको छ कि छैन भन्ने प्रमाणित गर्नु महत्वपूर्ण हुने भएकाले मापन, प्रतिवेदन र प्रमाणीकरण प्रणालीलाई अभियानले विशेष महत्व दिएको छ।
प्रविधिको प्रयोग गरी परियोजनाबाट भएको जलवायु प्रभावको मापन, त्यसको पारदर्शी प्रतिवेदन, विश्वसनीय प्रमाणीकरण तथा अभिलेखीकरण गर्ने प्रणाली विकास गरिने जनाइएको छ। यस्तो संयन्त्रले नेपाली परियोजनाप्रति अन्तर्राष्ट्रिय लगानीकर्ता र कार्बन खरिदकर्ताको विश्वास बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
विदेशी लगानी आकर्षित गर्ने प्रयास
अभियानले नेपाललाई अन्तर्राष्ट्रिय जलवायु लगानीका लागि सम्भावनायुक्त मुलुकका रूपमा स्थापित गर्न सकिने जनाएको छ।
अन्तर्राष्ट्रिय कार्बन बजार विज्ञ डा. डिभाल्डो रेजेन्डेको अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई प्रयोग गर्दै नेपाली परियोजनालाई विश्वव्यापी जलवायु वित्त तथा कार्बन बजारसँग जोड्ने प्रयास गरिने बताइएको छ।
नेपालले पारदर्शिता र सुशासनलाई बलियो बनाउन सके अन्तर्राष्ट्रिय लगानीकर्ता तथा जलवायु साझेदारको विश्वास थप बढ्न सक्ने अभियानको धारणा छ।
कार्बन क्रेडिट बिक्रीभन्दा फराकिलो सोच
नेपालमा कार्बन बजारको चर्चा प्रायः कार्बन क्रेडिट उत्पादन र बिक्रीमा सीमित हुने गरेको छ। तर प्रस्तावित अभियानले भने त्यसलाई एउटा व्यापक वित्तीय र संस्थागत प्रणालीका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
परियोजना विकास, प्राविधिक क्षमता, वित्तीय स्रोत, प्रमाणीकरण, राष्ट्रिय अभिलेख, कारोबार केन्द्र र अन्तर्राष्ट्रिय बजारसम्मको पहुँचलाई एउटै प्रणालीमा जोड्ने अवधारणा अघि सारिएको छ।
सरकार, निजी क्षेत्र, वित्तीय संस्था, विकास साझेदार, समुदाय र अन्तर्राष्ट्रिय संस्थाबीच सहकार्य गरी पारदर्शी तथा विश्वसनीय कार्बन बजार निर्माण गर्ने योजना छ।
वनदेखि कृषिसम्म सम्भावना
कार्बन बजारका लागि नेपालमा वन तथा प्राकृतिक स्रोतबाहेक कृषि, नवीकरणीय ऊर्जा, फोहोर व्यवस्थापन, जैविक कोइला र विभिन्न जलवायु प्रविधिमा पनि अवसर रहेको अभियानले जनाएको छ।
यी क्षेत्रका सम्भावनालाई उच्च गुणस्तरका परियोजनामा परिणत गर्न सके अन्तर्राष्ट्रिय पुँजी आकर्षित गर्नुका साथै रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न सकिने अपेक्षा गरिएको छ।
यस दृष्टिले कार्बन बजार वातावरण संरक्षणमा मात्र सीमित नरही लगानी, वित्तीय स्रोत परिचालन, रोजगारी र स्थानीय समुदायको आर्थिक अवसरसँग जोडिन सक्ने देखिन्छ।
राष्ट्रिय प्रणाली निर्माणमा जोड
प्रस्तावित संरचनाको उद्देश्य नेपाललाई अन्तर्राष्ट्रिय कार्बन बजारमा सहभागी हुने मुलुकका रूपमा मात्र सीमित राख्नु नभई आफ्नै कार्बन तथा जलवायु वित्तीय प्रणाली भएको देशका रूपमा विकास गर्नु रहेको छ।
त्यसका लागि परियोजना विकासदेखि प्रमाणीकरण, अभिलेख, वित्तीय परिचालन र अन्तर्राष्ट्रिय कारोबारसम्मका संयन्त्रलाई एकीकृत रूपमा अघि बढाउने योजना छ।
नेपालसँग जलवायु क्षेत्रको ठूलो सम्भावना भए पनि त्यसलाई वास्तविक आर्थिक लाभमा बदल्न विश्वसनीय संस्था, पारदर्शी बजार र लगानीयोग्य परियोजना आवश्यक देखिन्छ। प्रस्तावित कार्बन बजार विकास अभियानले यही संरचनात्मक आवश्यकता सम्बोधन गर्ने लक्ष्य लिएको छ।
