पश्चिम नेपालका केही जिल्लामा भारी वर्षा, आज र भोलि पनि वर्षाको सम्भावना
काठमाडौं — नेपालबाट मनसुन बाहिरिने प्रक्रिया सुरु भइसके पनि देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि सक्रिय देखिएको छ। मौसमविद्का अनुसार आज र भोलि विशेषगरी पहाडी तथा पश्चिमी क्षेत्रमा वर्षाको मात्रा बढ्न सक्ने सम्भावना छ।
पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी नेपालमा रहेको मनसुनी प्रणालीको प्रभावसँगै बंगालको खाडी र अरेबियन सागरबाट नेपालतर्फ जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले वर्षा बढेको मौसमविद् डा. विनोद पोखरेलले बताएका छन्।
उनका अनुसार अघिल्लो दिनको तुलनामा आज र भोलि वर्षा हुने क्षेत्र विस्तार हुनुका साथै वर्षाको मात्रा पनि बढ्न सक्छ। मौसम पूर्वानुमान महाशाखाले समेत आगामी एक–दुई दिन वर्षाको गतिविधि जारी रहने जनाएको छ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार बिहान केही समय मौसम खुले पनि दिउँसोदेखि वर्षाको गतिविधि पुनः सक्रिय हुने सम्भावना छ। हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनसक्ने तथा पश्चिमी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए।
आगामी तीन दिनसम्म सुदूरपश्चिम, कर्णाली, मधेश तथा कोशी प्रदेशका केही क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरिएको छ। कतिपय स्थानमा मध्यमदेखि भारी वर्षासमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
काठमाडौंमा पनि वर्षाको सम्भावना
काठमाडौं उपत्यकामा आज दिउँसो मध्यम खालको वर्षा हुनसक्ने मौसमविद् दाहालले बताएका छन्। मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा वर्षा वा हिमपात हुनसक्नेछ।
त्यस्तै कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
कैलालीमा १०० मिलिमिटरभन्दा बढी वर्षा
पछिल्लो १२ घण्टामा कैलाली, बर्दिया र दाङका केही क्षेत्रमा भारी वर्षा भएको छ। कैलालीको बलियामा सबैभन्दा बढी १००.४ मिलिमिटर वर्षा मापन भएको छ।
त्यसैगरी बर्दियाको दौलतपुरमा ६८.२ मिलिमिटर र दाङको जलकुण्डीमा ७०.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
कर्णालीदेखि कोशी प्रदेशसम्मका विभिन्न क्षेत्रमा वर्षा भएको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको मौसमसम्बन्धी विवरणमा उल्लेख छ।
काठमाडौं उपत्यकामा समेत अघिल्लो दिन दिउँसो र राति वर्षा भएको थियो। बबरमहल क्षेत्रमा १२ घण्टाको अवधिमा ३० मिलिमिटर वर्षा मापन गरिएको थियो।
