अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन : निर्माणस्थलमा पूर्वाधारको काम तीव्र
लोथर (चितवन)— राष्ट्रिय प्राथमिकताको अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा निर्माणपूर्वका कामले गति लिएको छ। परियोजनास्थलमा अहिले जमिन पुर्ने (ल्याण्ड फिलिङ) तथा बाहिरी पर्खाल निर्माणको काम भइरहेको छ।
नेपाल आयल निगमका निर्देशक एवं परियोजना प्रमुख प्रदीपकुमार यादवका अनुसार जग्गा व्यवस्थापनसँगै परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि अन्तिम चरणमा पुगेको छ।
परियोजनाका लागि लोथरमा करिब २३ बिघा १२ कट्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीनफिल्ड टर्मिनल निर्माण गर्ने योजना छ। भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी)को मोतिहारी डिपोस्थित पम्प हाउसबाट लोथरसम्म पेट्रोलियम पदार्थ पठाउने व्यवस्था मिलाइनेछ।
अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटर लामो १० दशमलव ७५ इन्च व्यासको पाइपलाइन बिछ्याइनेछ। निगमका अनुसार पाइपलाइनको नक्सांकन पूरा भइसकेको छ र पूर्वपश्चिम राजमार्गको समानान्तर हुने गरी यसको डिजाइन तयार गरिएको छ।
हेटौँडा बजार क्षेत्रमा भने पाइपलाइन नलैजाने गरी वैकल्पिक मार्ग तय गरिएको छ। रातोमाटे आसपासबाट नदीको मार्ग हुँदै पाइपलाइन अघि बढाएर हेटौँडा बजार पार गरेपछि राप्ती पुल नजिकै पुनः जोडिने योजना रहेको परियोजना प्रमुख यादवले जानकारी दिए।
तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य
निगमले परियोजनाको निर्माण तीन वर्षभित्र पूरा गरेर सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटरका दरले पेट्रोलियम पदार्थ लोथरसम्म आपूर्ति गर्न सकिनेछ।
करिब ६२ किलोमिटर लामो पाइपलाइनमा नियमित रूपमा करिब ३ हजार २०० किलोलिटर इन्धन भण्डारण अवस्थामा रहने व्यवस्था गरिनेछ।
निगमका उपप्रबन्धक ऋषिराम शर्माका अनुसार अहिले परियोजनास्थलमा जमिन सम्याउने, बाहिरी पर्खाल लगाउने र अन्य पूर्वतयारीका काम अघि बढिरहेका छन्। जग्गा तयार भएपछि भण्डारणलगायतका मुख्य संरचना निर्माणको जिम्मेवारी आइओसीलाई दिइनेछ।
ल्याण्ड फिलिङ र बाहिरी पर्खाल निर्माणको जिम्मा मोतीदान कन्स्ट्रक्सनले पाएको छ। करिब ७९ करोड रुपैयाँमा ठेक्का पाएको कम्पनीले गत भदौदेखि काम थालेको हो। ठेक्का अवधि एक वर्ष रहे पनि आठदेखि नौ महिनाभित्र काम सक्ने लक्ष्यसहित निर्माणलाई तीव्र पारिएको कम्पनीका प्रतिनिधि कृष्ण घोरासाइनीले बताए।
लोथरमा ९१ हजार ९०० किलोलिटर इन्धन भण्डारण हुने
परियोजनाअन्तर्गत लोथरमा ठूलो क्षमताको पेट्रोलियम भण्डारण डिपो निर्माण हुनेछ। निगमका अनुसार नयाँ डिपोमा कुल ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिनेछ।
पेट्रोलका लागि ११ हजार किलोलिटर क्षमताका तीनवटा ठाडा ट्यांकी निर्माण गरिनेछन्। डिजेलका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीनवटा तथा मट्टितेलका लागि ८०० किलोलिटर क्षमताका दुईवटा ट्यांकी बनाइने योजना छ।
त्यसैगरी हवाई इन्धन भण्डारणका लागि ३ हजार ६०० किलोलिटर क्षमताका तीनवटा ट्यांकी निर्माण गरिनेछन्। थप रूपमा दुईवटा ट्रान्समिक्स ट्यांकी पनि बनाइने निगमले जनाएको छ।
हवाई इन्धन ढुवानीमा ठूलो बचत हुने अपेक्षा
लोथरमा हवाई इन्धन भण्डारण गर्ने पूर्वाधार बनेपछि हवाई इन्धनसमेत पाइपलाइनमार्फत ल्याउन सकिनेछ। हाल नेपालमा हवाई इन्धन भारतको बरौनीबाट ट्यांकरमार्फत ढुवानी हुँदै आएको छ।
निगमका अनुसार पाइपलाइनबाट हवाई इन्धन आपूर्ति सुरु भएपछि प्रतिलिटर करिब पाँच रुपैयाँ ढुवानी खर्च घट्न सक्छ। यसबाट वार्षिक करिब दुई अर्ब रुपैयाँ बराबरको ढुवानी लागत बचत हुने अनुमान गरिएको छ।
पाइपलाइन प्रणालीबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा वातावरणीय जोखिम घट्नुका साथै चोरी र मिसावटको सम्भावना पनि न्यून हुने निगमको अपेक्षा छ। पाइपलाइन र भण्डारण गृहसहित परियोजनाको अनुमानित लागत १४ अर्ब ९ करोड ६०लाख रुपैयाँ रहेको छ।
भारतसँगको सहकार्यमा अघि बढेको परियोजना
अमलेखगन्ज–लोथर पाइपलाइन तथा लोथरमा भण्डारण गृह निर्माणसम्बन्धी समझदारी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को २०८० जेठमा भएको भारत भ्रमणका क्रममा भएको थियो।
त्यसपछि २०८१ असोज १७ गते नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच परियोजना निर्माणसम्बन्धी सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण सुरु भएको ५४ महिनाभित्र परियोजना सञ्चालनमा ल्याउने लक्ष्य छ। आइओसीले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत तयार गरिसकेको छ।
हाल भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म सञ्चालनमा रहेको करिब ६९.२ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमार्फत नेपालमा इन्धन आयात हुँदै आएको छ। २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त परियोजनाको उद्घाटन गरेका थिए।
सुरुमा डिजेल आयात हुँदै आएको पाइपलाइनबाट २०८१ असोज २४ देखि पेट्रोल र सोही वर्षको मंसिर १९ देखि मट्टितेलसमेत ल्याउन थालिएको हो।
दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रूपमा रहेको उक्त संरचनाको भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६.२ किलोमिटर गरी कुल लम्बाइ ६९.२ किलोमिटर छ। मल्टी–प्रोडक्ट पाइपलाइनबाट आउने इन्धनले नेपालको करिब ७० प्रतिशत माग धान्दै आएको निगमको भनाइ छ।
अमलेखगन्जबाट काठमाडौं, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज र जनकपुरलगायतका डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ।
अमलेखगन्ज–लोथर परियोजना सम्पन्न भएपछि देशका पश्चिमी तथा उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति अझ सहज हुने अपेक्षा गरिएको छ। साथै ठूलो क्षमताको भण्डारण पूर्वाधार निर्माणले भविष्यमा इन्धन आपूर्ति व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउने विश्वास गरिएको छ।
