दसैं यात्राका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ
काठमाडौं — दसैंमा घर फर्किने यात्रुको चापलाई व्यवस्थित गर्न सरकारले असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।
यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुरका प्रतिनिधि, ट्राफिक प्रहरी तथा अन्य सरोकारवालासँग छलफल गरेपछि अग्रिम टिकट बिक्री सुरु गर्ने निर्णय गरेको हो।
दसैंको मुख्य यात्राको अवधिमा लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीलाई यात्रुको मागअनुसार सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट परमिट खुला गरिएको विभागले जनाएको छ। यसबाट यात्रुको चाप बढी भएका गन्तव्यमा थप सवारी परिचालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
दसैंका बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन ढुवानीका साधनले फलफूल, तरकारी, औषधि, खसी–बोका, खाद्यान्नलगायत सामग्रीलाई प्राथमिकतामा राखेर ढुवानी गर्नेछन्। अन्य सामग्रीको ढुवानी भने आवश्यकताअनुसार व्यवस्थापन गरिनेछ।
यात्रुहरूलाई टिकट, भाडादर तथा यातायातसम्बन्धी समस्या परेमा तत्काल जानकारी तथा सहयोग उपलब्ध गराउन विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। हाल १५ स्थानमा यस्ता सहायता कक्ष सञ्चालनमा रहेका छन्।
बसपार्क, कोटेश्वर र बल्खुसहितका प्रमुख स्थानमा यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, मजदुर संगठन र ट्राफिक प्रहरीको सहभागितामा संयुक्त समिति पनि गठन गरिएको छ।
निर्धारितभन्दा बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने वा यात्रुलाई अन्य समस्या सिर्जना गर्ने कार्य भए सहायता कक्षमा जानकारी गराउन सकिनेछ। यस्तै, ट्राफिक प्रहरीको १०० नम्बरमा समेत उजुरी गर्न सकिने व्यवस्था गरिएको छ।
विभागले व्यवसायीलाई सरकारले निर्धारण गरेको भाडादरअनुसार मात्र टिकट बिक्री गर्न र बिचौलियामार्फत हुने टिकट कालोबजारी नियन्त्रण गर्न निर्देशन दिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले छोटो अवधिमै करिब १५ देखि १६ लाख यात्रुलाई गन्तव्यसम्म पुर्याउनुपर्ने भएकाले सरकार, व्यवसायी, मजदुर र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
