दसैंमा पर्यटकीय स्थलमा लिङ्गे पिङ, सांस्कृतिक पर्यटन प्रवर्द्धनमा पर्यटन बोर्ड
काठमाडौं । नेपालीको मौलिक संस्कृति र दसैंको परम्परालाई पर्यटनसँग जोड्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले देशका विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गरी सञ्चालन गर्ने भएको छ।
बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले स्थानीय तह र पर्यटन क्षेत्रसँग आबद्ध संघसंस्थासँग सहकार्य गरी काठमाडौं उपत्यकासहित विभिन्न पर्यटकीय क्षेत्रमा पिङ राख्ने तयारी गरेको हो।
दसैंको समयमा पर्यटक तथा सर्वसाधारणको चहलपहल बढी हुने स्थानलाई प्राथमिकतामा राखेर पिङ निर्माण गरिने बोर्डले जनाएको छ। यसबाट दसैंको सांस्कृतिक माहोललाई पर्यटकीय गतिविधिसँग जोड्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम कार्यान्वयनका लागि बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति तथा ठमेल पर्यटन विकास समितिसँग सहकार्य गरेको छ।
त्यसैगरी हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल एसोसिएसन नेपाल (हान), होटल व्यवसायी महासंघलगायत विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघसंस्थासँग पनि सहकार्य गरिएको बोर्डले जनाएको छ।
सम्बन्धित निकायसँग भएको सम्झौताअनुसार दसैं अवधिभर पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ सञ्चालन हुनेछ। पिङ राख्दा पर्यटकको आवागमन, स्थानीय सांस्कृतिक गतिविधि तथा स्थानको उपयुक्ततालाई आधार बनाइनेछ।
पिङ निर्माण र सञ्चालनका क्रममा सुरक्षा मापदण्ड, भिड व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने व्यवस्था गरिएको छ। सम्भावित जोखिम कम गर्न सम्बन्धित पक्षले आवश्यक सुरक्षा प्रबन्ध मिलाउनुपर्नेछ।
दसैं पर्व सकिएपछि पिङ हटाएर निर्माण गरिएको स्थानलाई पहिलेकै अवस्थामा फर्काउने जिम्मेवारी पनि सम्बन्धित स्थानीय तह तथा संस्थाको हुने सम्झौतामा उल्लेख छ।
पर्यटन बोर्डले नेपाली समाजको मौलिक परम्परा र चाडपर्वलाई पर्यटन गतिविधिसँग जोडेर नयाँ पर्यटकीय अनुभव सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाएको जनाएको छ। लिङ्गे पिङजस्ता परम्परागत गतिविधिले पर्यटकलाई नेपाली संस्कृति नजिकबाट अनुभव गर्ने अवसर दिनुका साथै दसैंलाई सांस्कृतिक पर्यटनको आकर्षणका रूपमा प्रवर्द्धन गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा छ।
