जीप सफारीबाट तनहुँका पर्यटकीय गन्तव्यलाई एउटै सर्किटमा जोड्ने योजना
तनहुँ — तनहुँका प्रमुख प्राकृतिक, धार्मिक तथा ग्रामीण पर्यटकीय स्थललाई जीप सफारीमार्फत जोडेर नयाँ पर्यटन सर्किट निर्माण गर्ने तयारी अघि बढाइएको छ। बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा सञ्चालन हुँदै आएको जीप सफारीलाई जिल्लाका अन्य गन्तव्यसम्म विस्तार गर्ने योजना बनाइएको हो।
पर्यटन व्यवसायीका अनुसार जीप सफारीमार्फत पर्यटकलाई मुख्य पर्यटकीय केन्द्रमा मात्र सीमित नराखी गाउँ, पहाडी बस्ती, धार्मिकस्थल र प्राकृतिक क्षेत्रसम्म पुर्याउने लक्ष्य छ। यसका लागि दमौली, मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधीमूललगायत क्षेत्रलाई एउटै यात्रामा समेट्ने अवधारणा अघि सारिएको छ।
बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले जिल्लाका विभिन्न गन्तव्यलाई जोडेर व्यवस्थित पर्यटकीय प्याकेज विकास गर्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिने बताए।
उनका अनुसार हाल बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा जीप सफारी सञ्चालन भइरहेको छ। अब त्यसलाई विस्तार गरी फरक–फरक प्रकृतिका गन्तव्य समेटिएको पर्यटन सर्किट बनाउने तयारी भइरहेको छ।
एउटै यात्रामा विविध गन्तव्य
तनहुँमा धार्मिक, प्राकृतिक, ग्रामीण तथा साहसिक पर्यटनका लागि सम्भावना भएका धेरै क्षेत्र भए पनि ती गन्तव्यलाई एउटै प्याकेजमा जोड्ने प्रयास पर्याप्त हुन सकेको छैन। जीप सफारीलाई माध्यम बनाएर विभिन्न क्षेत्रलाई जोड्न सके पर्यटकले छोटो अवधिमै जिल्लाका धेरै स्थानको भ्रमण गर्न सक्ने व्यवसायीको भनाइ छ।
मानुङकोट सूर्योदय, सूर्यास्त र हिमाली दृश्यावलोकनका लागि लोकप्रिय बन्दै गएको छ। दमौली नजिकै रहेको यस क्षेत्रबाट देखिने पहाड तथा हिमशृङ्खलाले पर्यटक आकर्षित गर्दै आएको छ।
छाब्दी धार्मिक तथा प्राकृतिक आकर्षण बोकेको गन्तव्य हो भने छिम्केश्वरी उच्च पहाडी क्षेत्रको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित छ। आँधीमूल पनि धार्मिक पर्यटनका लागि सम्भावना बोकेको क्षेत्र हो।
यी गन्तव्यलाई सडकमार्गमार्फत जोडेर जीप सफारी सञ्चालन गर्दा पर्यटकले एउटै प्याकेजमा विभिन्न अनुभव लिन सक्नेछन्। यसले पर्यटन व्यवसायीलाई पनि नयाँ प्याकेज बिक्री गर्न सहज हुने अपेक्षा गरिएको छ।
गाउँसम्म पुग्ने पर्यटन
प्रस्तावित जीप सफारीको अर्को उद्देश्य ग्रामीण क्षेत्रलाई पर्यटनको मूल प्रवाहमा ल्याउनु हो। स्थापित पर्यटकीय केन्द्रबाट ग्रामीण सडक हुँदै गाउँ र पहाडी बस्तीमा पर्यटक पुर्याउन सके पर्यटनबाट प्राप्त हुने आम्दानी स्थानीय समुदायसम्म विस्तार गर्न सकिने व्यवसायी बताउँछन्।
पर्यटकको आवागमन बढेपछि स्थानीय होटल, होमस्टे, रेस्टुरेन्ट, यातायात तथा अन्य सेवा व्यवसायले प्रत्यक्ष लाभ लिन सक्नेछन्। त्यस्तै स्थानीय कृषि उत्पादन, घरेलु परिकार, हस्तकला तथा अन्य उत्पादनको बजारसमेत विस्तार हुने अपेक्षा गरिएको छ।
बन्दीपुर र आँबुखैरेनीलाई आधार बनाउने योजना
पहाडी पर्यटनको स्थापित गन्तव्यका रूपमा रहेको बन्दीपुरलाई आधार बनाएर आसपासका ग्रामीण तथा धार्मिक स्थलसम्म पर्यटक पुर्याउन सकिने सम्भावना छ। त्यसैगरी प्राकृतिक तथा धार्मिक आकर्षण बोकेको आँबुखैरेनीलाई पनि अर्को प्रवेश बिन्दुका रूपमा विकास गर्न सकिने व्यवसायीको भनाइ छ।
पौडेलका अनुसार एउटा गन्तव्यमा पर्यटक पुर्याएर फर्काउनेभन्दा धेरै गन्तव्यलाई एउटै प्याकेजमा जोडेर बसाइ अवधि र खर्च दुवै बढाउने रणनीति आवश्यक छ।
पर्यटन सर्किट प्रभावकारी बनाउन स्थानीय तह, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको व्यवसायीले बताएका छन्। सडक सुधार, संकेतचिह्न, विश्रामस्थल, सुरक्षा तथा आधारभूत पर्यटकीय सुविधाको विस्तारलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनीहरूको सुझाव छ।
सम्भावित गन्तव्यको पहिचान, पूर्वाधार सुधार, प्रचारप्रसार र निजी क्षेत्रसँगको समन्वय प्रभावकारी बनाउन सके तनहुँलाई बहुदिवसीय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ। जीप सफारीमा आधारित यस्तो सर्किटले पर्यटकको बसाइ बढाउनुका साथै ग्रामीण क्षेत्रमा रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ।
