त्रिशूलीमा फर्कियो र्याफ्टिङको चहलपहल, बाढीपछि जलयात्रा पुनः सञ्चालन
काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण केही समय रोकिएको त्रिशूली नदीको र्याफ्टिङ सेवा पुनः सञ्चालनमा आएको छ। नदीको बहाव र जलस्तर सामान्य बन्दै गएपछि सुरक्षा परीक्षणसहित साहसिक जलयात्रा नियमित बनाइएको हो।
भदौ १० गतेको बाढीपछि त्रिशूलीको जलप्रवाहमा परिवर्तन देखिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै र्याफ्टिङ गतिविधि रोकिएको थियो। पछिल्लो अवस्थाको अध्ययन तथा स्थलगत निरीक्षणपछि व्यवसायीले सेवा पुनः सुरु गरेका हुन्।
र्याफ्टिङ सञ्चालन गर्नुअघि नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) सहित जलयात्रा विज्ञ, अनुभवी गाइड र प्राविधिक टोलीले नदीका प्रमुख र्याफ्टिङ रुटको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा नदीको बहाव, धार, र्यापिड तथा बाढीपछि भएको भौगोलिक परिवर्तनबारे अध्ययन गरिएको थियो।
बाढीपछि त्रिशूलीका केही भागमा नयाँ र्यापिड बनेका छन् भने कतिपय स्थानमा नदीको धारसमेत परिवर्तन भएको पाइएको छ। यद्यपि, हालको नदीको अवस्था र पानीको बहाव र्याफ्टिङका लागि अनुकूल रहेको विज्ञहरूको निष्कर्ष छ।
नारा अध्यक्ष कमल ठकुरीका अनुसार गल्छीदेखि मुग्लिनसम्मको मुख्य र्याफ्टिङ क्षेत्रमा ठूलो परिवर्तन नदेखिएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाएर जलयात्रा गर्न सकिने अवस्था छ। उनका अनुसार नदीको अवस्था निरीक्षण गरेर सुरक्षा प्रोटोकल सुनिश्चित गरेपछि सेवा पुनः सञ्चालन गरिएको हो।
नाराका पूर्वअध्यक्ष सूर्यप्रसाद जोशीले हालको पानीको सतह र बहावले साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकका लागि र्याफ्टिङ थप रोमाञ्चक बन्न सक्ने बताए। उनका अनुसार व्यावसायिक र्याफ्टिङ सञ्चालनका लागि गरिएको ‘रेकी ट्रिप’ समेत सुरक्षित देखिएपछि सेवा खुला गरिएको हो।
र्याफ्टिङ व्यवसायीलाई सेवा पुनः सञ्चालन गर्न आग्रह गर्दै नारा कोषाध्यक्ष हितमान गुरुङले यसबाट नदीमा आधारित पर्यटन व्यवसायलाई पुनः गति दिन सहयोग पुग्ने बताए। उनका अनुसार काठमाडौं, चितवन, पोखरा तथा लुम्बिनी आवतजावत गर्ने नेपाली र विदेशी पर्यटकका लागि त्रिशूलीमा र्याफ्टिङ आकर्षक गतिविधिका रूपमा जोडिन सक्छ।
बाढीपछि पर्यटक आगमन घट्दा त्रिशूली आसपासका होटल, रिसोर्ट तथा अन्य पर्यटन व्यवसाय प्रभावित भएका थिए। र्याफ्टिङ पुनः सञ्चालनमा आएपछि नदीमा आधारित पर्यटन गतिविधि विस्तारै पुरानै लयमा फर्किने व्यवसायीको अपेक्षा छ।
रिभर साइड स्पा एन्ड रिट्रिट तथा त्रिशूली रिभर साइड रिसोर्टका सञ्चालक उद्धव कँडेलले र्याफ्टिङ सुरु भएसँगै त्रिशूली क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गरे। उनका अनुसार बाढीपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनर्जीवित गर्न जलयात्राको पुनः सञ्चालनले महत्वपूर्ण भूमिका खेल्नेछ।
नाराले त्रिशूलीमा र्याफ्टिङ सञ्चालन गर्ने कम्पनीहरूलाई आवश्यक सुरक्षा सावधानी अपनाएर सेवा सञ्चालन गर्न आग्रह गरेको छ। र्याफ्टिङ नियमित भएपछि यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा निर्भर व्यवसायी र श्रमिकलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ।
