छठको रौनकले भरिँदै नदी किनार र जलाशय, धार्मिक पर्यटनको आकर्षण बढ्दो
काठमाडौं — सूर्य आराधनाको पर्व छठको मुख्य दिन आज देशभरका नदी किनार, पोखरी तथा जलाशयहरू भक्तजनको चहलपहलले भरिँदैछन्। विशेषगरी तराई–मधेसका छठघाटदेखि काठमाडौं उपत्यकाका विभिन्न जलाशयसम्म धार्मिक आस्था र सांस्कृतिक गतिविधिले पर्यटकीय वातावरण सिर्जना गरेको छ।
चार दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन्। त्यसका लागि विभिन्न स्थानमा रहेका छठघाटहरूलाई आकर्षक रूपमा सजाइएको छ। पूजा, सांस्कृतिक गतिविधि र स्थानीय परम्पराले यी क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटनका गन्तव्यका रूपमा समेत चिनाउन थालेका छन्।
छठ विशेषगरी तराई–मधेसको मौलिक सांस्कृतिक पर्वका रूपमा स्थापित भए पनि पछिल्ला वर्षहरूमा यसको प्रभाव देशका अन्य भूभागमा समेत विस्तार भएको छ। काठमाडौं उपत्यकामा गुह्येश्वरी–गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरी तथा वागमती, नख्खु र विष्णुमती नदी किनारमा समेत छठका लागि विशेष तयारी गरिएको छ।
छठका अवसरमा एउटै स्थानमा भेला हुने ठूलो संख्याका श्रद्धालु, सजाइएका घाट, पूजाका सामग्री, पारम्परिक पोसाक र स्थानीय खानपानले पर्यटकका लागि फरक सांस्कृतिक अनुभव सिर्जना गर्छ। विशेषगरी तराईका जनकपुरधाम, वीरगञ्ज, विराटनगर, सप्तरी, सिरहा, धनुषा लगायतका क्षेत्रमा छठको धार्मिक अनुष्ठानसँगै स्थानीय संस्कृति र जीवनशैली अवलोकन गर्ने अवसरसमेत प्राप्त हुन्छ।
छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ। पहिलो दिन नहाय–खायबाट सुरु हुने पर्वमा दोस्रो दिन खरना गरिन्छ। षष्ठीका दिन निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तथा सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुन्छ।
धार्मिक मान्यताअनुसार सूर्यदेवको आराधना गरे सुख, समृद्धि, स्वास्थ्य र पारिवारिक कल्याण प्राप्त हुने विश्वास छ। यही धार्मिक आस्थाका कारण देशका विभिन्न स्थानमा रहेका छठघाटमा टाढाटाढाबाट श्रद्धालु तथा आगन्तुक पुग्ने गरेका छन्।
पछिल्लो समय छठ पर्व धार्मिक अनुष्ठानमा मात्र सीमित नरही नेपालको विविध सांस्कृतिक पहिचान र समुदायबीचको सम्बन्ध झल्काउने पर्वका रूपमा समेत स्थापित हुँदै गएको छ। छठका अवसरमा स्थानीय बजार, होटल, यातायात, पूजा सामग्री तथा परम्परागत खाद्यवस्तुको कारोबार बढ्ने भएकाले यसले स्थानीय अर्थतन्त्र र आन्तरिक पर्यटनलाई समेत चलायमान बनाउने गरेको छ।
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर घाटमा जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न हुनेछ। यससँगै छठघाटमा देखिने धार्मिक आस्था, सांस्कृतिक विविधता र सामूहिक उत्सवले नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटनको अर्को आकर्षक पक्ष प्रस्तुत गर्नेछ।
