दाङको पर्यटकीय स्थल पुरन्धारा झरना जाने सडक स्तरोन्नति
तुलसीपुर । दाङको पर्यटकीय स्थल पुरन्धारा झरना जाने सडक स्तरोन्नति शुरु भएको छ ।
बबई गाउँपालिका पूर्वाधार शाखाका इञ्जिनियर राजेश देवकोटाले करीब रु ६५ लाख ६५ हजार एक सय ८५ रुपैयाँको लागतमा सडकको स्तरोन्नतिसँगै कालोपत्र गर्न थालिएको जानकारी दिए । बबई गाउँपालिका–५ को गँगटेदेखि पर्यटकीय केन्द्र पुरन्धारा झरनासम्म जोड्ने करीब नौ सय मिटर सडक कालोपत्रको काम भइरहेको हो ।
सङ्घ सरकार र स्थानीय सरकारको ५०/५० प्रतिशत लागत सहभागितामा सडक स्तरोन्नतिको काम अगाडि बढेको देवकोटाले बताए । सडक स्तरोन्नतिसँगै यहाँ पर्यटकीय गतिविधि बढ्ने विश्वास गरिएको छ । स्थानीय दीपक शाहका अनुसार विगतमा राम्रो बाटो नहुँदा यो झरना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको थिएन ।
“विगतमा सडक नहुँदा वर्षात्को समयमा पर्यटक आउँदैनथे तर अहिले सडक स्तरोन्नतिको भएको छ,” उनले भने, “त्यसले गर्दा वर्षात्मा पनि त्यहाँ दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् ।” रासस
