बुध्द एयरको एउटा जहाज ७० हजार घण्टा उडान पुरा गरी फेज आउट हुँदै, ‘फेरि कहिलै नउड्ने’

काठमाडौं । ७० हजार उडान साइकल पूरा गरेपछि बुध्द एयरको एउटा जहाजको अस्तित्व समाप्त हुने भएको छ । उडानमा एउटा टेकअफ र एउटा ल्यान्डिङलाई एक साइकल मानिन्छ ।
नाइन एन एआईएन कलसाइनको एटीआर ४२ जहाज उडान घण्टा सकिएपछि यसको भौतिक उपस्थिती नै अन्त्य गर्न लागिएको हो ।उडान साइकल सकिएपछि बुध्द एयरले १८ लाख यात्रु बोकेको यो जहाजको मंगलवारदेखि बिदाइ गर्न लागिएको छ ।
ट्वीनअटर र बीचक्राफ्ट भन्दा ठूला क्षमताका सबै जहाजको लाइफलाइकल हुने र तोकिएको अवधिसम्मको उडानपछि फेजआउट गर्ने पर्ने हुन्छ ।
नेपालमा उडान गरिरहेको एटीआरले उत्पादन गरेको एउटा जहाज अब कहिल्यै पनि नउडाउने र अस्थित्वमै नरहने गरी महाप्रस्थानमा पठाउन लागिएको हो ।
उक्त जहाज बुध्द एयरले नै ४० हजार घण्टा उडायो भने बुध्दले ल्याउनुअघि नै ३० जहार घण्टा उडान गरिसकेको जहाज हो । यो जहाजको कति पाटपूर्जा काम लाग्छन् त्यसालाई निकाल्ने, जहाजको बडी निकाल्ने र काम लाग्नेलाई प्रयोग गर्ने र नलाग्नेलाई स्क्राप गर्ने बुध्द एयरले जानकारी दिएको छ । उक्त जहाज आजबाट उडानमा नहुने र सदैका लागि बिदा गरिने बुध्द एयरले जानकारी दिएको छ ।
बुध्दले मंगलबार विमानस्थलमा नियामक निकाय, एटीआरका प्रतिनिधि र सम्बन्धित इन्जिनियरहरुको उपस्थितिमा उक्त जहाजलाई अन्तिम बिदाइ गर्ने भएको हो । बुध्द एयरका अनुसार जहाजको आयु सकिएकोले अब यो विस्थापित हुन लागेको हो।
बुध्दले उडान गरेको नाइन एन एआईएन नामक उक्त जहाज एटीआर जहाज उत्पादक कम्पनीले उत्पादन गरेको जहाजमध्ये पूरा समय उडानमा आएर बिदाइ गर्नुपर्ने अर्थात उडान साइकल पूरा भएको यो नै पहिलो जहाज भएको पनि उल्लेख छ ।
एटीआर सन् १९८१ मा स्थापना भएको फ्रेन्च इटालियन जहाज निर्माता कम्पनी हो । एटीआर ४२, ३२० ‘नाइन एनआइएन ’ ट्वीन टर्बोप्रप जहाज हो । यसको यात्रु क्षमता ४७ जना छ ।
बुध्दले यो जहाजलाई सन् २००८ को सेप्टेम्बरमा नेपाल भित्र्याएको हो । यसले २००८ को सेप्टेम्बर १७ बाट माउन्टेन पहिलो फ्लाइटमार्फत नेपाली आकाशमा व्यावसायिक उडान सुरु गरेको थियो।
नेपाली आकाशमा उडान सुरु गरेको १६ वर्षपछि जहाजको ‘उडान आवर’ समाप्त भएको हो । नेपालमा यो जहाजको अन्तिम उडान पनि माउन्टेन उडान नै भएको छ । ‘नाइन एन एआईएन’ले आज मंगलबार काठमाडौंबाट अन्तिम माउन्टेन फ्लाइट गर्ने छ । माउन्टेन उडानमा एटीआरका कम्पनीका प्रतिनिधिहरु समेत हुने छन्।
नियमित जाँच र मर्मतसम्भार गर्ने हो भने जहाज पुरानो हुँदैन र पूरा उडान समयसम्म सेवा दिन सक्छ भन्ने विषय यही जहाजले बुध्द एयरमार्फत प्रमाणित गरेको छ । बुध्द एयरले सुरक्षित उडानका लागि आवश्यक पर्ने सम्पूर्ण जाँच र मर्मतमा ध्यान दिएकै कारण ‘नाइन एनआइएन ’ को सुखद विदाइ गर्न सफल भएको कम्पनीको भनाइ छ ।