पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा विजयी
टुरिजमफेस
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार भएकी शर्माले ४ हजार २ सय २८ मत प्राप्त गरिन् ।
उनका प्रतिद्वन्द्वी प्रेस युनियनबाट विद्रोह गरी प्रेस सेन्टरसँग सहकार्य गरेका रमेश विष्टले ३ हजार २ सय ३ मत प्राप्त गरे । अध्यक्षमा प्रतिस्पर्धा गरेका देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे । अन्य पदाधिकारीमा कोषाध्यक्षबाहेक शर्माकै प्यानल विजयी भएको छ । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नीतु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् । कोषाध्यक्षमा भने प्रेस सेन्टरका रामकृष्ण अधिकारीले प्रेस युनियन र चौतारी प्यानलका रामकृष्ण ज्ञवालीलाई हराए ।
