निजी सम्पत्तिको क्षतिपूर्ति पाउनुपर्छः उद्योग वाणिज्य महासंघ

टुरिजमफेस
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राजावदीहरूको आन्दोलनको क्रममा भएको निजी सम्पत्तिमाथि भएको आक्रमण, आगजनी र लुटपाटप्रति भत्र्सना गर्दै क्षतिपूर्ति माग गरेको छ । ‘चैत १५ गते काठमाडौंमा भएको आन्दोलन तथा प्रर्दशनका क्रममा मानवीय क्षतिसंगै धनजनमा भएको आक्रमण निकै दुःखद छ,’ प्रेस विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ, ‘सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाटका हिंसक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भत्र्सना गर्दै क्षतिपुर्ति हुनुपर्छ ।’
कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटनाप्रति महासंघ घोर निन्दा र भत्र्सना गर्ने र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
राजावादीको हिंसात्मक समूहले तीनकुने, कोटेश्वर, बानेश्वर, बालकुमारी क्षेत्रका निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेका थिए । प्रहरीका अनुसार तीनकुनेमा रहेको मार्बल हाउस, अन्नपूर्ण मिडियाको कार्यालय, कान्तिपुर टेलिभिजनमा तोडफोड तथा आगजनी गरेका थिए । त्यस्तै, भाटभटेनी सुपर स्टोर, जडीबुटीमा रहेको सरकारी उद्योग जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, आलोकनगरमा रहेको नेकपा समाजवादी पार्टी कार्यालयलगायतमा तोडफोड र आगजनी भएको थियो ।