मुगुमा पहिलोपटक पर्यटक प्रहरी

टुरिजमफेस
जुम्ला । प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मुगुको रारामा पहिलोपटक पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ । रारा आउने पर्यटकहरूको सुरक्षाको लागि पर्यटक प्रहरी चौकी स्थापना गरिएको हो ।
ताल्चा विमानस्थल नजिकै रारा जाने बाटोमा पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ । पर्यटक प्रहरी चौकीको उद्घाटन गर्दै छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले घुम्न आउने पर्यटक बढिरहेको र जसका कारण सुरक्षा चुनौती देखिएको बेला प्रहरी चौकी स्थापना हुनु सुखद रहेको बताए ।
रारामा पर्यटकको आगमन र सुरक्षा चुनौती पहिचान गरेर नगरकार्यपालिकाले पर्यटक प्रहरी चौकीको माग संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँग गरेको थियो ।
उनले केही समयपछि रारा सल्लेरीमासमेत पर्यटक प्रहरी चौकी स्थापना गरिने बताए । मुगु प्रहरी प्रमुख डिएसपी सरोज गिरीले पर्यटक प्रहरी चौकी स्थापनाले रारा क्षेत्रमा घुम्न आउने पर्यटकहरू निर्धक्कपूर्वक घुम्न पाउने बताए । देशभर २९ पर्यटक प्रहरी चौकी रहेकोमा कर्णालीमा पहिलो पर्यटक प्रहरी चौकीका रूपमा मुगुको ताल्चामा स्थापना गरिएको हो ।
पर्यटक प्रहरीले विशेष गरेर विदेशी पर्यटकहरूको निगरानी राख्ने उनको भनाइ छ । पर्यटकहरू माथि दुव्र्यवहार हुन नदिने, सुरक्षित अनुभूति गराएर बसोबास लम्ब्याउने वातावरण बनाउने, अपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने र पर्यटकहरूलाई सहजीकरण गर्नेसम्मको काम पर्यटक प्रहरीले गर्ने गिरीले बताए ।