दुर्गा प्रसाईं पक्राउ परे, परेनन्, परे

Durga-Prasain arrested
टुरिजमफेस
काठमाडौं । चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाई भारतमा पक्राउ परेको खबर बिहीवार सार्वजनिक भयो । तर सोही दिन राति प्रहरी प्रधान कार्यालयले विज्ञप्ति प्रकाशित गरी उनी पक्राउ नपरेको जानकारी गरायो ।
यो कुरा शुक्रवार बिहानसम्म कायम रहेन र उनलाई भारतको आसामबाट नेपाल ल्याउने तयारी भइरहेको उनका दाइ लक्ष्मी प्रसाईले बताए । प्रसाईको सचिवालयले भने उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेको दावी गरेको छ । तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि फरार प्रसाईं प्रहरीलाई ठेल्दै बी ए बी ४२०८ नम्बरको स्कर्पियो चढेर भागेका थिए । पछि उनको गाडी पूर्वी नाकामा फेला परेको थियो ।
प्रहरीले प्रसाईंलाई संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने तयारी गरेको छ । हिंसात्मक प्रदर्शनमा विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट भएको थियो । त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ गाडीमा क्षति पुगेको थियो ।
घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए । तीमध्ये पाँच जनाको अझै अस्पतालमा उपचार भइरहेको छ । ।तीनकुनेको प्रदर्शनमा सहभागी भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७९ जनालाई भने प्रहरीले यसअघि नै पक्राउ गरेको छ । मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Durga-Prasain arrested