गण्डकीका नयाँ १५ हिमाल आरोहणका लागि खुला, जाने हो ?

gandaki himal
टुरिजमफेस
पोखरा । गण्डकी प्रदेशअन्तर्गतका १५ नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ । खुला भएका नयाँ हिमालमा सबैभन्दा बढी मुस्ताङका छन् । खुला गरिएकामा मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका १ मा पर्ने ६ हजार ६२ मिटरको ज्याङलाटुन्पु पिक, ६ हजार १८७ मिटर उचाइको केक्याप रि–१ र ६ हजार ११ मिटर उचाइको केक्याप रि–२ छन् ।
त्यस्तै, मुस्ताङकै लोमन्थाङ गाउँपालिका ४ मा पर्ने ६ हजार ३६६ मिटरको छुआमा पिक, ६ हजार ३२५ मिटरको छुआमा २, ६ हजार २६८ मिटर उचाइको छुआमा पिक ३ तथा लोमन्थाङ ५ मा रहेको ६ हजार २२९ मिटर उचाइको चुङ्गेन चाङ्गमा, ६ हजार २९ मिटरको घ्युन हिमाल २, ६ हजार २७ मिटरको घ्युन हिमाल ३ पनि खुला गरिएको छ । सोही ठाउँको ६ हजार १८६ मिटर अग्लो मनसयल पूर्व र ६ हजार १६० मिटर अग्लो मुस्ताङ हिमाल पनि आरोहीका लागि खुला गरिएको छ ।
लोमन्थाङ १ मा पर्ने दामोदर हिमाल श्रृंखलाको ५ हजार ८०७ मिटर अग्लो लुनाधार खाङ्ग, ५ हजार ८९७ मिटर अग्लो यारसाङ्ग खाङ्ग तथा गोरखाको गणेश हिमाल श्रृंखलामा पर्ने चुमनुब्री गाउँपालिका ३ र धार्चे १ को ६ हजार २५० मिटर उचाइको लुम्बो हिमाल समेत खुला भएको छ । डोल्पा र मुस्ताङको सीमानामा पर्ने धौलागिरी हिमाल श्रखंलाको ६ हजार ३३८ मिटर अग्लो होङदे पश्चिमलाई पनि आरोहणका लागि सूचीकृत गरिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । अहिले खुला गरिएका अधिकांश गन्तव्य आकर्षक भएकाले पर्यटकहरूको आगमण बढ्ने अपेक्षा गरिएको छ ।
gandaki himal