पर्यटन बोर्डको सदस्यबाट नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक हटाएर पर्यटन विभागका महानिर्देशकलाई राख्ने प्रस्ताव

टुरिजमफेस
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पर्यटन बोर्डमा रहने व्यवस्था हटाइने भएको छ । प्राधिकरणका महानिर्देशकलाई हटाएर पर्यटन विभागका महानिर्देशकलाई बोर्डमा राखिने प्रस्ताव गरिएको छ ।
नेपाल पर्यटन बोर्ड ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सञ्चालक समितिको गठन परिवर्तन गर्ने प्रस्ताव गरिएको हो । पर्यटन क्षेत्रको विकासका लागि प्राधिकरणका महानिर्देशकको भन्दा पर्यटन विभागका महानिर्देशकको भूमिका बढी हुने सरोकारवालाहरूले भन्दै आएका थिए । विद्यमान कानुन अनुसार पर्यटन बोर्डमा ११ सदस्यीय सञ्चालक समिति हुन्छ ।
बोर्डमा पर्यटन व्यवसायी, पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञसहित सरकारले मनोनीत गरेका ५ जना रहने व्यवस्था गरिएको छ । प्रस्ताव अनुसार होटल तथा आतिथ्य क्षेत्रबाट १, ट्राभल, टुर, ट्रान्सपोर्ट तथा डेस्टिनेसन म्यानेजमेन्ट क्षेत्रबाट १, पदयात्रा, पर्वतारोहण तथा अन्य साहसिक गतिविधिको क्षेत्रमा क्रियाशील रहेकाबाट १, नेपालस्थित विमान सेवा तथा हवाई उड्डडनबाट १ र पर्यटन क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीकर्ताहरूबाट १ जनालाई नियुक्त गर्ने उल्लेख छ ।
यसको साथै प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दा आवश्यक पर्ने सिफारिस समितिको व्यवस्थालाई पनि खारेज गर्ने प्रस्ताव गरिएको छ । प्रमुख कार्यकारी नियुक्तिका लागि पर्यटन मन्त्रालयका सहसचिवको संयोजकत्वमा पर्यटनसँग सम्बन्धित विज्ञ सम्मिलित ३ सदस्यीय छनोट समिति गठन गर्ने प्रस्ताव गरिएको छ । अहिले भने नेपाल सरकारले तोकेको व्यक्ति अध्यक्ष र पर्यटन व्यवसायसँग सम्बन्धित २ जना सदस्य रहने सिफारिस समितिको निर्णय अनुसार प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने गर्छ । नयाँ प्रस्ताव प्रतिनिधि सभाले पारित गरेमा लागू हुन्छ । अहिले प्रस्ताव गरिएको व्यवस्थाबारे सर्वसाधारणले सुझाव दिनसक्ने भनिएको छ ।