गृहमन्त्रीको पत्रकार सम्मेलन : ‘अख्तियारले कर्मचारीमाथि छानबिन गर्दा कुन मन्त्रीले राजीनामा दिएका छन् ?’

गृहमन्त्री रमेश लेखक
टुरिजमफेस
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि अख्तियारले छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिएको उदाहरण नभएको बताएका छन् ।
प्रतिपक्षी दलले संसदमा सम्बोधन गर्न नदिएपछि आफ्ना भनाई राख्न गृहमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्ला तीन आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका उजुरीहरूको तथ्यांक प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भएका छन् । सम्पूर्ण उजुरी कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेका पदाधिकारीमाथि हुन्छन् । तिमाथि छानबिन गर्ने र अख्तियारले मुद्दा दर्ता गर्ने काम गरिरहेको छ, उनले भने, कर्मचारीमाथि छानबिन हुँदैमा अहिलेसम्म कति मन्त्रीले राजीनामा दिए होलान्, तपाईंहरू आफैं विवेचना गर्नुहोला ।
गृहमन्त्री लेखकले तीन आर्थिक वर्षको अवधिमा गृह मन्त्रालयको नेतृत्व विभिन्न तीनजना माननीयले गरेको भन्दै त्यसअवधिमा परेका उजुरीमाथि अख्तियारले छानबिन गर्दा कुनै पनि गृहमन्त्रीले राजीनामा नदिएको बताए ।
कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री लेखक निर्दोष रहेको भन्दै उनको राजिनामा माग्ने कांग्रेस नेताहरुलाई नै स्पष्टिकरण सोध्नुपर्ने आवाज उठेको थियो । त्यसपछि गृहमन्त्री लेखक राजिनामा नदिएर आफूमाथि लागेका आरोपवारे संसदमा जवाफ दिने अडानमा बसे । संसदमा जवाफ दिन नपाएपछि बुधवार लेखकले पत्रकार सम्मेलन गरेका हुन् ।
गृहमन्त्री रमेश लेखक