बुद्ध एयरको विमानबाट सगरमाथा देख्नासाथ चिनियाँले भनेः ‘वाऊ! इट्स अमेजिङ’

फाइल तस्बिर सगरमाथा
सिबी अधिकारी
काठमाडौं । आँखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा चिनियाँ सगरमाथा आरोही सिओजुले आफूलाई हिमालै अँगालोमा बेरेझैँ अनुभूति भएको बताए ।
‘वाऊ ! इट्स अमेजिङ एभरेस्ट, आई नेभर फर्गेट’ (आहा ! यो अद्भूत छ, म यसलाई कहिल्यै भुल्ने छैन) । जहाजको झ्यालबाट सगरमाथातर्फ नजरलगाइरहेका सिओजुले पुनः भने, ‘नेपाल साँच्चिकै सुन्दर छ, यहाँको प्राकृतिक सुन्दरता र सेता हिमालले जो कोहीलाई मोहित तुल्याउँछ, जुन विश्वकै गौरवको विषय हो ।’
माउन्टेन फ्लाइट जीवनकै अविस्मरणीय भएको उनले बताए । अर्का चिनियाँ आरोही वाङसु छाले पनि हिमालय क्षेत्रको अवलोकन गर्न पाउँदा खुसीको सीमै नरहेको बताए । ‘आश्चर्यजनक छ, खुसीको सीमै रहेन’, उनले भने ।
सगरमाथा आरोहणको अनुभव सुनाउँदै उनले नेपालतर्फबाट सगरमाथाको भूबनोट नयाँ र अनुपम लागेको बताए । नजिकैबाट सगरमाथासहितका सुन्दर हिमाल हेर्दा भारतको गुजरातका निलिस बर्टलाई निलेस् बर्टमा पनि खुसीको सीमा थिएन ।
सगरमाथा आरोही विद्यार्थीलाई सँगै लिएर गएका बर्टले आफ्नो वर्षौँदेखिको सगरमाथालाई नजिकबाट साक्षात्कार गर्ने सपना पूरा भएको बताए । उनले भने, ‘असाध्यै राम्रो अनुभव भयो, मेरो वर्षौँदेखिको सपना पूरा भयो ।’ नेपालको अनुपम प्राकृतिक सुन्दरता हेर्न अफू पटकपटक नेपाल आउने गरेको उनले बताए । काठमाडौंमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय एभरेस्ट समिटर्स समिट–२०२५’ का सहभागी भारत, चीनलगायत विभिन्न मुलुकका सगरमाथा आरोहीलाई नेपालको हिमाली सौन्दर्यको अवलोकन गराइएको छ ।
पर्वतीय उडान (माउन्टेन फ्लाइट) मार्फत उनीहरूलाई विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो ।
नेपाल बिग माउन्टेनका उपाध्यक्ष सुजित रेग्मीका अनुसार बुद्ध एयरको एटीआर विमानमार्फत माउन्टेन फ्लाइट गराइएको हो । भारत, चीन, बेलायत, मेक्सिकोलगायत मुलुकका ५० आरोहीले हिमाली दृश्यावलोकन गरेका हुन् ।
काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ६ बजेर ४० मिनेटमा उडेको विमान करिब एक घण्टाको उडानपछि पुनः काठमाडौँ विमानस्थलमै अवतरण भएको थियो । लाङटाङ हिमालदेखि सगरमाथा हिमाल क्षेत्रसम्मको हिम चुचुरोको दृश्यावलोकन गरिएको थियो ।
निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयरलगायतले पर्वतीय उडान गर्दै आएका छन् । राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुन्छ ।
विमानस्थलबाट सुरु हुने यो उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अनुपम प्राकृतिक सुन्दरता भूधरातलीय स्वरूपको आकर्षणले स्वदेशी तथा विदेशीलाई मोहित तुल्याउँछ । रासस
फाइल तस्बिर सगरमाथा