वृद्ध भत्ता पाउन ७० वर्ष पुगेको हुनुपर्ने

बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेल
टुरिजमफेस
काठमाडौं ।आगामी आर्थिक वर्षदेखि वृद्ध भत्ता पाउन ७० वर्ष पुगेको हुनुपर्ने भएको छ । हाल ६८ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले वृद्ध भत्ता पाउँछन् । वृद्ध भत्ता पाउने हरेक व्यक्तिलाई सरकारले मासिक ४ हजार रूपैयाँ उपलब्ध गराउने गर्छ । तीनवर्षअघि वृद्ध भत्ता पाउने उमेर ७० वर्षबाट ६८ मा झारिएको थियो ।
सरकारको आर्थिक स्रोतले नभ्याउने भन्दै कतिपयले वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम गर्नु भन्दै आएका थिए । सरकारले आगामी आर्थिक वर्षका लागि सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराएका हुन् ।
बजेटमार्फत छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने उनले घोषणा गरेका छन् । समाजिक सुरक्षाका यस्ता कार्यक्रम दोहोरिएका कारण कतिपयले अनावश्यक रूपमा लाभ लिएका छन् । अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षामा आबद्ध हुन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उल्लेख गरेका छन् । र, ज्येष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने बताए ।
बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेल