बजेटपछिको पहिलो कारोबारमा होटल तथा पर्यटन समूहमा आकर्षण, बजेटमा के आयो नयाँ व्यवस्था ?

काठमाडौं । बजेट घोषणापछिको पहिलो कारोबारमा होटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
समग्र बजार १.६० अंक मात्रै बढेर नेप्से परिसूचक २६९४ अंकमा कायम हुँदा कारोबार रकम भने ९ अर्ब २२ करोड रुपैयाँ नाघेको छ । जुन अघिल्लो कारोबार दिनको भन्दा पौने एक अर्ब रुपैयाँ बढी हो ।
सेयर बजार ठूलो अंकले नबढेपनि होटल तथा पर्यटन समूह २.३९ प्रतिशत बढेको छ । पर्यटन क्षेत्रका कम्पनीमा आकर्षण बढ्नुमा बजेटमा समावेश केही व्यवस्थाहरु रहेको लगानीकर्ताले बताएका छन् ।
बजेटमा होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर छुट दिने घोषणा गरिएको छ । आयकर छुट हुँदा होटलहरुको नाफामा बृद्धि भई लाभांश क्षमता बढ्ने विश्वास सहित यस क्षेत्रमा आकर्षण देखिएको लगानीकर्त अमृत राईले बताए ।
सोमवार होटल तथा पर्यटन समूह अन्तर्गतका कम्पनीका ६ लाख ९१ हजार कित्ता सेयर करिब ४५ करोड रुपैयाँमा कारोबार भएका छन् । पर्यटन समूहमा ओरियन्टल होटल र सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ ।
६ वटा कम्पनीहरु सूचीकृत यस समूहमा तारागाउँ रिजेन्सीको मूल्य ४ प्रतिशतले बढेको छ । त्यसपछि सिटी होटल र कालिञ्चोक दर्शनको मूल्य साढे २ प्रतिशत हाराहारी बढ्दा सोल्टी होटलको मूल्य करिब २ प्रतिशत र ओरियन्टल होटलको मूल्य १ प्रतिशत बढेको छ ।