पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध १८ करोड ५८ लाख बिगो दाबीको मुद्दापछि एकीकृत समाजवादीले भन्यो–प्रतिशोध साँधियो

टुरिजमफेस
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष माधवकुमार नेपालविरुद्ध १८ करोड ५८ लाख रूपैयाँ बराबरको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरिएपछि नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिसोध साँधिएको आरोप लगाएको छ । समाजवादीले राजनीतिक पूर्वाग्रहको आधारमा आक्रमण भएको समेत दावी गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि पार्टीले यस्तो प्रतिक्रिया सार्वजनिक गरेको हो । समाजवादीका उपाध्यक्ष वेदुराम भुसालले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेर आक्रमण भएकाले राजनीतिक र कानुनी प्रतिवाद गर्ने बताए ।.
पूर्वप्रधानमन्त्री नेपाल काठमाडौंबाहिर रहेको बेला अख्तियारले पतन्जली जग्गा प्रकरणमा उनीसहित ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ । मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
यस्तो छ आरोप
काभ्रेमा जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि नेपाल नेतृत्वको सरकारले २०६६ माघ १८ गते भारतको पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा ८१५ रोपनी जग्गा खरिद गर्न दिने निर्णय गरेको थियो । तर पछि हदबन्दी छुटमा पाएको जग्गा मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गर्न दिइएको अख्तियारको दावी छ ।
भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न नपाइने कानुनी व्यवस्था छ ।
अख्तियारले नेपालसँगै तत्कालीन कानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार मन्त्री स्वर्गीय डम्बरबहादुर श्रेष्ठका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरे, पूर्व भूमिसुधार सचिव छविराज पन्त, तत्कालीन सहसचिवहरू जितबहादुर थापा, लालमणि जोशीका विरुद्ध पनि मुद्दा दायर गरेको छ । त्यस्तै कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, केशरबहादुर बानियाँ, राजाराम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा सिताराम पोखरेल, बुद्धिबहादुर कार्की प्रेमबहादुर देशार, केदारनाथ भट्टराई, मोहनराम शर्मा, जनार्दन गुरागाईं, बेदप्रसाद अर्याल, शिवहरि शर्मा सुवेदी, विनोद कोइराला, तुलामणि राजभण्डारी, कृष्णप्रसाद सापकोटा, हरिप्रसाद हुमागाईं, कृष्णहरि भट्टराई, पवन आचार्य, माधवप्रसाद हुमागाईं, यशु मैनाली, मनोज न्यौपाने, विक्रान्त कोइराला, रविनकुमार नेपाल, आशा राणा अधिकारी, सञ्जयकुमार सिद्धी, सुनिलरत्न स्थापित, बलराम विष्ट छन् ।
साथै पतञ्जलि योगपिठ तथा आयुर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका संस्थापक सदस्य शालिग्राम सिंह, भोजराज शर्मा वाग्ले, जीवनराज कँडेल, ध्रुवराज थापा, मनु घिमिरे, ओमप्रकाश वंश, भिमदत्त जोशी, विरेन्द्रलाल श्रेष्ठ र लक्ष्मण कार्कीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।