‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ सुविधा खारेजपछि १० हजार नेपाली अमेरिकाबाट फर्कनुपर्ने

टुरिजमफेस
काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले कडाइ गर्दै लिएको आप्रवासन नीति अनुसार नेपाली नागरिकले पाउँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरिएको छ ।
यो निर्णय कार्यान्वयन हुँदा करिब १० हजार नेपाली स्वदेश फर्कनुपर्ने हुन्छ । आउँदो अगस्ट ५ को राति १२ बजेपछि यो निर्णय कार्यान्वयनमा जाने भएकाले त्यसअघि नै घर फर्कन युएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसको वेवसाइटमार्फत अमेरिकी सरकारले सार्वजनिक गरेको छ ।
नेपालीले यसरी पाएका थिए टीपीएस सुविधा
अमेरिकी आप्रवासन नीति अनुसार कुनै पनि मुलुकका नागरिक विशेष परिस्थितिको मारमा पर्दा अस्थायी रूपमा अमेरिकामा बस्न र काम गर्न अनुमति दिने गरिन्छ ।
नेपाली नागरिकले पनि सन् २०१५ मा गएको विनाशकारी भूकम्पको कारण देखाउँदै टीपीएस सुविधा पाएका थिए । त्यतिबेला करिब १५ हजार नेपालीले यस्तो सुविधा लिएका थिए । तीमध्ये अझै १० हजारले सोही सुविधा प्रयोग गरिरहेको बताइन्छ । पछिल्लो समयमा अवैध रूपमा अमेरिका गएका आप्रवासीलाई फिर्ता गरिरहेको ट्रम्प प्रशासनले विद्यार्थी भिसामा पनि कडाइ गरेको छ ।