भारतीय पर्यटकले पाँच हजार अमेरिकी डलर नगद ल्याउन पाउने व्यवस्था हुन थालेको हो ?

फाइल तस्बिर अर्थ मन्त्रालय
टुरिजमफेस
काठमाडौं । नेपाल घुम्न आउने भारतीय नागरिकले पाँच हजार अमेरिकी डलर नगद ल्याउन पाउने व्यवस्था हुनुपर्ने पर्यटन व्यवसायीको लामो समयदेखिको माग हो । यस्तो व्यवस्था हुन नसक्दा नेपाल घुम्न आउने भारतीय पर्यटकलाई समस्या हुने र उनीहरूले सीमित रूपमा खर्च गर्नुपर्ने भएकाले पर्यटन क्षेत्रले लाभ लिन नसकेको गुनासो रहँदै आएको छ ।
विद्यमान नेपाल राष्ट्र बैंक ऐन अनुसार भारतीय नागरिकले भारु २५ हजार भन्दा बढी नगद साथमा ल्याउन पाइँदैन । त्यस्तो रकम पनि एक सय रूपैयाँको नोट मात्र बोक्न पाइन्छ । त्यसलाई भारतीय नागरिकले झन्झट मान्दै आएका छन् । नेपालमा पाँच सय र एक हजार भारु प्रतिबन्ध गरिएका छन् ।
यसैबीच आर्थिक वर्ष २०८२÷८३ को बजेटमा सरकारले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेपछि पर्यटन व्यवसायी खुशी भएका छन् । त्यो भन्दा बढी रकम ल्याएमा सम्बन्धित भन्सार विन्दुमा घोषणा गर्न सकिने भनिएको छ ।
के बजेटमा गरिएको यस्तो व्यवस्था तत्काल कार्यान्वयन हुन सक्ने अवस्था छ त ? पर्यटन व्यवसायीहरू सरकारले चाहने हो भने कार्यान्वयन गर्न कुनै गाह्रो नभएको तर नेपालमा राम्रा राम्रा योजना घोषणा हुने अर्कोतर्फ कार्यान्वयन नहुने उदाहरण थुप्रै रहेको बताउने गर्छन् । नयाँ व्यवस्था कार्यान्वयन हुन सक्यो भने भारतीय पर्यटकलाई हुन्छ ।
अहिले भारतीय नागरिकले २५ हजार भारु भन्दा बढी रकम बोकेर ल्याउन नपाउने व्यवस्था छ । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारी आव २०८२÷८३ को बजेटले घोषणा गरे अनुसार भारतीय पर्यटकले साथमा ल्याउन पाउने २५ हजार भारुको सीमा हट्ने बताउँछन् । उनले भारतीय पर्यटकले पाँच हजार डलर साथमा ल्याउन पाउने र त्यो भन्दा बढी ल्याउने हो भने सम्बन्धित भन्सार विन्दुमा घोषणा गर्नुपर्ने बताए ।
फाइल तस्बिर अर्थ मन्त्रालय