गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अझै अनिश्चित, होटलमा लगानी गरिएको एक खर्ब जोखिममै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
टुरिजमफेस
बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अझै अनिश्चित देखिएको छ । खासगरी यो विमानस्थल प्रयोग गर्ने अन्तर्राष्ट्रिय यात्रुको संख्या बढ्न नसकेका कारण विमानस्थल सञ्चालनमा निश्चित हुन नसकेको सम्बद्ध अधिकारीहरू बताउने गर्छन् ।
पछिल्लो समयमा अन्तर्राष्ट्रिय यात्रुको संख्या बढ्ने अपेक्षा गरिएको बेला उल्टै सञ्चालन भएको पहिलो वर्षको तुलनामा घटेको छ । सन् २०२२ देखि अन्तर्राष्ट्रिय उडान हुन थालेकोमा सन् २०२४ सम्म जम्मा ४५ हजार ५७३ यात्रु मात्रै यो विमानस्थल प्रयोग गरी विदेश आएको÷गएको विमानस्थलले जनाएको छ ।
विमानस्थलका अनुसार सन् २०२२ मा ३१ हजार ३५५ यात्रु यो विमानस्थल हुँदै विभिन्न मुलुक आएको÷गएकोमा सन् २०२३ मा ४ हजार ७५१ र सन् २०२४ मा ९ हजार ४६७ विभिन्न हवाई कम्पनीमार्फत विदेशबाट आए र उडे । सन् २०२२ मा विमानस्थल प्रयोग गरेका यात्रुमध्ये १७ हजार ८९६ भैरहवाबाट उडेका थिए भने १३ हजार ४५९ भैरहवामा उत्रिएका थिए ।
त्यस्तै सन् २०२३ मा भैरहवाबाट विदेश जानेमा २ हजार २९५ र भैरहवा उत्रनेमा २ हजार ४५६ थिए । सन् २०२४ मा भैरहवाबाट ४ हजार १०३ उड्दा ५ हजार ३४६ ले अवतरण गरेका थिए ।
विमानस्थलका अनुसार सन् २०२५ को सुरुवाती महिनामा भने विदेश यात्रा गर्नेको संख्या उत्साहजनक छ । तर मार्चपछि अन्तर्राष्ट्रिय उडानको संख्या घटेकाले पूरै वर्षको अवस्था के हुन्छ भन्न नसकिने सम्बद्धहरू बताउँछन् ।
सन् २०२५ को जनवरीदेखि मार्चसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत भइरहँदा नेपाल एअरलाइन्स, जजिरा, फ्लाई दुबई र थाई एअर एसियामार्फत १५ हजार १४८ यात्रुले विमानस्थल प्रयोग गरेका थिए ।
विमानस्थलका प्रवक्ता विनोद राउतले भैरहवा विमानस्थलको दैनिक ५० अन्तर्राष्ट्रिय उडान क्षमता र वार्षिक ३० लाख बढी यात्रु प्रस्थान गर्नसक्ने रहेको बताए । विमानस्थलमा एकपटकमा ५ न्यारोबडी वा एउटा वाइडबडी र ३ न्यारोबडी जहाज उडान र पार्किङ गर्नसक्ने क्षमता छ ।
क्षमताअनुसार विमानस्थल सञ्चालन हुँदा १५ दिनमा हुने उडान र यात्रु संख्या विमानस्थल नचल्दा ३ वर्षमा पनि हुन नसकेको बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो तथा कुनै समस्या आउँदा भारत र नजिकका विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले गौतमबुद्ध विमानस्थल निर्माण गरिएको हो । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका बौद्धमार्गीहरूलाई आकर्षित गर्ने पनि विमानस्थल निर्माणको मुख्य उद्देश्य हो ।
निर्माण कार्य सम्पन्न भएको ३ वर्ष पुगे पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थललाई लक्षित गरी होटल र पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट भएको करिब एक खर्ब रूपैयाँ लगानी संकटमा परेको व्यवसायीहरूको गुनासो छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि आवश्यक श्रम कार्यालय, मेडिकल जाँच, भिसा सेन्टर, सीप तालिम केन्द्र जस्ता निकाय र म्यानपावर कम्पनीका कार्यालयहरू भैरहवामा स्थापना गर्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय भए पनि कार्यान्वयन नहुँदा एअरलाइन्सहरूले यात्रु अभाव भएको बहाना देखाई उडान कटौती गरेको बताउँछन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल