प्रदेश बजेटः पर्यटन उच्च प्राथमिकतामा

फाइल तस्बिर सगरमाथा चढ्दै गरेका आरोहीहरू
टुरिजमफेस
काठमाडौं । प्रदेश सरकारहरूले ल्याएको बजेटमा पर्यटन क्षेत्र उच्च प्राथमिकतामा परेको छ । पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल हुने अपेक्षा राख्दै प्रदेश सरकारहरूले आवश्यकता अनुसार बजेट विनियोजन गरेको आ–आफ्ना बजेट भाषणमा उल्लेख गरेका छन् ।
कोशी प्रदेश सरकारले ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा दिएको छ । कोशी प्रदेश सरकारले पर्यापर्यटन विकासका लागि दुई करोड ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । कोशीको बजेटमा पर्यटन, वन तथा वातावरणका लागि दुई अर्ब ९७ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
मधेश प्रदेश सरकारले प्रदेश राजधानीलाई पर्यटनमैत्री तथा पर्यटकहरूलाई मिथिला संस्कृतिको मौलिकता अनुभूत हुने गरी आवश्यक पूर्वाधार निर्माणमार्फत सौन्दर्यीकरण गर्ने कार्यका लागि बजेट विनियोजन गरेको जनाएको छ । उसले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका लागि तीन अर्ब आठ करोड रूपैयाँ बजेट छुट्टाएको छ ।
त्यस्तै गण्डकी प्रदेश सरकारले पनि पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिँदै बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारले साइक्लिङ पर्यटन प्रवर्द्धन गर्नका लागि जोमसोम, बन्दीपुर र पोखरामा लेक टु लेक साइक्लिङ मार्ग निर्माणका लागि बजेट विनियोजन गरेको सार्वजनिक गरेको छ । ‘पहिले घरदेश अनि परदेश’ को नारा ल्याएको गण्डकी प्रदेश सरकारले प्राकृतिक, सांस्कृतिक, साहसिक र कृषि पर्यटन विकासलाई जोड दिएको छ ।
‘गण्डकको खास बसौं घरबास’ जस्ता आकर्षक नारा दिइएको बजेटमा पर्यटन क्षेत्रको विकासका लागि ८४ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
गौतमबुद्धको जन्मस्थल रहेको लुम्बिनी प्रदेश सरकारले समग्र पर्यटन क्षेत्रको विकासका लागि ८० करोड रूपैयाँ विनियोजन गरेको छ । ‘कृषि, उद्योग, पर्यटन र पूर्वाधार समग्र लुम्बिनीका मुख्य आधार’ नारा दिएको लुम्बिनी प्रदेश सरकारले बाँकेको बागेश्वरी, दाङको छिल्लीकोट, बर्दियाको ठाकुरद्वारा, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीकोे पाणिनी र सुपादेउराली, गुल्मीको रुरु–रेसुंगा, पाल्पाको रानीमहल, रुपन्देहीको जितगढीलगायतका स्थल संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ ।
रुकुमकोटलाई हिमालयन पर्यटन हबको प्रस्थान बिन्दु बनाइने बजेटमा उल्लेख छ । बागमती र सुदूरपश्चिम तथा कर्णाली प्रदेश सरकारको प्राथमिकतामा पनि पर्यटन क्षेत्र परेको छ ।
फाइल तस्बिर सगरमाथा चढ्दै गरेका आरोहीहरू