इजरायल, जोर्डनलगायतका देशमा श्रम स्वीकृति बन्द गर्न सिफारिस

फाइल तस्बिर वैदेशिक रोजगारीमा जाँदै गरेका नेपाली
टुरिजमफेस
काठमाडौं । युद्धग्रस्त मुलुक इजरायल, इरान तथा आसपासका जोर्डन, सिरियाजस्ता देशका लागि दिने गरिएको श्रम स्वीकृति बन्द गर्न सरोकारवाला निकायले सरकारलाई सुझाव दिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सरोकारवाला निकायबीच भएको छलफलले ती मुलुक जाने कामदार समस्यामा पर्न सक्ने सम्भावना देखिएकाले तत्काल श्रम स्वीकृति बन्द गर्न उचित हुने निष्कर्ष निकालेको हो । छलफलमा श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलगायत वैदेशिक रोजगार विभागका महानिर्देशक तथा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकसहित वैदेशिक रोजगार व्यवसायी, स्वास्थ्य परीक्षण गर्ने संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।
उक्त सुझावलाई मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र ती मुलुक जाने कामदारको हकमा श्रम स्वीकृति जारी प्रक्रिया बन्द हुने छलफलमा सहभागी तथा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिए । श्रम मन्त्री शरतसिंह भण्डारी यतिखेर आइएलओको सभामा सहभागी हुन जेनेभा छन् । उनी स्वदेश फर्केपछि कुनै निर्णय हुनसक्ने बताइएको छ ।
नेपाली नागरिक कुनै पनि मुलुकमा रोजगारमा जाँदा श्रम स्वीकृति अनिवार्य रूपमा लिनुपर्ने हुन्छ । द्वन्द्वग्रस्त मुलुक इरानमा रोजगारीका लागि नेपालीहरू खासै नजाने गरे पनि अर्को मुलुक इजरायल तथा आसपासका देश जोर्डनलगायतमा नेपाली कामदार जाने गर्छन् । बोर्डका अनुसार द्वन्द्वग्रस्त मुलुक इजरायलमा यतिखेर करिब दुई हजार नेपाली रहेको अनुमान छ । समस्या थप खराब हुँदै गए ती मुलुकबाट नेपालीको उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ ।
फाइल तस्बिर वैदेशिक रोजगारीमा जाँदै गरेका नेपाली